१६ कात्तिक खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले सञ्चालन गर्दै आएको स्वर्ण बिन्दु प्राशन कार्यक्रमको तेस्रो चरण आज सम्पन्न गरेको छ । बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा ३११ जना बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले जानकारी दिएको छ । विशेषगरी एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा बालकभन्दा बालिकाको सहभागिता बढी देखिएको छ। स्वर्ण बिन्दु प्राशन गराउनेमध्ये १४४ जना बालक र १६७ जना बालिका रहेका छन्।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका प्रमुख डा.सरबिन्द्र प्रसाद यादवका अनुसार बालबालिकाको स्वास्थ्य प्रवद्र्धन तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यसहित नियमित रूपमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन भइरहेको छ । उहाँले कार्यक्रमप्रति अभिभावकको आकर्षण र सहभागिता बढ्दै गएको बताउनुभयो। आयुर्वेद चिकित्सा पद्धतिमा स्वर्ण बिन्दु प्राशनलाई बालबालिकाको स्वास्थ्य प्रवद्र्धनका लागि प्रयोग गरिने परम्परागत विधिका रूपमा लिइन्छ। यस कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्यप्रति अभिभावकलाई सचेत गराउनुका साथै आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ। यसैबीच, कार्यक्रमको चौथो चरण आगामी मंसिर १३ गते सञ्चालन गरिने बताइएको छ । केन्द्रले आगामी चरणमा समेत लक्षित उमेर समूहका बालबालिकालाई सहभागी गराउन अभिभावकलाई आग्रह गरेको छ।




