२२ कात्तिक । खोटाङको बराहपोखरी गाउँपालिका-१ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी र शङ्खेश्वर महादेव मन्दिर परिसरमा हरिबोधनी एकादशीको अवसरमा मेला आयोजना हुने भएको छ। धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको बराहपोखरी क्षेत्रमा आगामी मंसिर ३ गतेदेखि मेला लाग्ने वडा अध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार मंसिर ३ गतेदेखि सुरु हुने मेला मङ्सिर ४ गते सम्पन्न हुनेछ। बराहपोखरी गाउँपालिका-१ मा रहेको बराहपोखरी र शङ्खेश्वर महादेव मन्दिर खोटाङ जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित रहेका छन्। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा हरेक वर्ष विभिन्न धार्मिक अवसरमा भक्तजन तथा दर्शनार्थीहरूको आवागमन हुने गरेको छ।
हरिबोधनी एकादशीको अवसरमा लाग्ने मेलामा श्रद्धालु भक्तजन, तीर्थालु तथा दर्शनार्थीहरूलाई सहभागी भई बराहपोखरीको दर्शन गर्न र शङ्खेश्वर महादेव मन्दिरमा पूजाआजा गरी आफ्नो मनोकामना पूरा गर्न आयोजकले आग्रह गरेको छ। हरिबोधनी एकादशीलाई हिन्दू धर्मावलम्बीहरूले विशेष धार्मिक महत्त्वका साथ मनाउने पर्वका रूपमा लिने गरेका छन्। यस अवसरमा भगवान् विष्णुको पूजा–आराधना गर्ने, व्रत बस्ने तथा धार्मिकस्थलहरूको दर्शन गर्ने परम्परा रहिआएको छ। यही धार्मिक महत्त्वलाई मध्यनजर गर्दै बराहापोखरी क्षेत्रमा समेत मेला आयोजना गर्न लागिएको हो।
मेलाले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्नुका साथै बराहपोखरी क्षेत्रको पर्यटकीय पहिचानलाई थप प्रचारप्रसार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै मेलामा विभिन्न स्थानबाट भक्तजन तथा दर्शनार्थीहरूको उपस्थिति हुँदा स्थानीय क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। प्राकृतिक रूपमा सुन्दर बराहपोखरी र धार्मिक महत्त्व बोकेको शङ्खेश्वर महादेव मन्दिरको प्रचारप्रसार गर्दै यस क्षेत्रलाई थप व्यवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पनि यस्ता मेलाले सहयोग पुग्ने वडा अध्यक्ष कार्कीले अपेक्षा गर्नुभएको छ।

—————————————————————————————————————————————–



