Skip to main content

Khotang Khabar

मेघराज धमला स्मृति प्रतिष्ठान खोटाङद्वारा तेजकुमार राईलाई उत्कृष्ट प्रधानाध्यापक पुरस्कार प्रदान

Advertisement

 

२१ कात्तिक खोटाङ। सामुदायिक विद्यालयको शैक्षिक उन्नयन, व्यवस्थापकीय क्षमता र सामाजिक सेवामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै च्यास्मिटार माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजकुमार राईलाई ‘उत्कृष्ट प्रधानाध्यापक पुरस्कार-२०८३’ प्रदान गरिएको छ। मेघराज धमला स्मृति प्रतिष्ठान खोटाङले हलेसी तुवाचुङ नगरपालिका-३, च्यास्मिटारस्थित उक्त विद्यालयका प्रधानाध्यापक राईलाई नगद ३० हजार रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरेको हो। शनिबार आज दिक्तेलमा आयोजित कार्यक्रममा उहाँलाई दोसल्ला ओढाएर नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

प्रतिष्ठानले स्वर्गीय प्रधानाध्यापक मेघराज धमलाले अध्यापन गर्नुभएको सरस्वती आधारभूत विद्यालयका विद्यार्थी तेजस विशुङ्खे र सदिक्षा कार्कीलाई समेत पुरस्कृत गरेको छ। दुवै विद्यार्थीलाई जनही दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिएको प्रतिष्ठानका महासचिव गोपालचन्द्र आचार्यले जानकारी दिनुभएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख राईले उत्कृष्ट प्रशासनिक कार्य र शैक्षिक गतिविधि सञ्चालन गरिरहेको सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई सम्मान गर्नुले जिल्लाको शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश दिएको बताउनुभयो। उहाँले स्वर्गीय धमलाको व्यक्तित्व र योगदानको स्मरण गर्दै ३८ वर्षको उमेरमै उहाँको निधन हुनु खोटाङका लागि अपूरणीय क्षति भएको उल्लेख गर्नुभयो ।

खेलकुद क्षेत्रमा अब्बल, कुशल खेलाडी, इमानदार तथा बौद्धिक सामाजिक व्यक्तित्वका रूपमा परिचित धमलाको निधनले जिल्लाले एक कर्मशील शिक्षक गुमाएको उहाँको भनाइ थियो। धमलाबाट समाजले सिकेका सकारात्मक पक्षलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिँदै उहाँले स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट प्रधानाध्यापक राई सम्मानित हुनु प्रशंसनीय कार्य भएको बताउनुभयो। दिक्तेलस्थित होटल शुभदिनमा आयोजित उक्त कार्यक्रम स्वर्गीय प्रधानाध्यापक धमलाको दोस्रो स्मृति दिवसको अवसरमा आयोजना गरिएको हो । कार्यक्रममा उपस्थित वक्ताहरूले धमलाले शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्दै उहाँको निधनप्रति दुःख व्यक्त गरेका थिए । उहाँका असल विचार, व्यवहार र सामाजिक योगदानलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा पनि वक्ताहरूले जोड दिएका थिए ।

स्वर्गीय प्रधानाध्यापक धमलाको वि.सं. २०८१ कात्तिक २१ गते हृदयघातका कारण निधन भएको थियो। दिदीको हातबाट भाइटीका ग्रहण गरी काठमाडौँबाट खोटाङ फर्कने क्रममा अचानक मुटु दुखेपछि उहाँलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौँस्थित शहीद गंगालाल अस्पतालमा रेफर गरिएका धमलालाई चिकित्सकले मृत घोषणा गरेका थिए। स्वर्गीय धमलाका श्रीमती र दुई छोरी छन् । यसैबीच, स्वर्गीय धमलाको स्मृतिमा परिवारका सदस्य तथा आफन्त गरी २९ जनाले स्वेच्छिक रूपमा नौ लाख ४५ हजार रुपैयाँ संकलन गरेर मेघराज धमला स्मृति प्रतिष्ठान स्थापना गरेका हुन् ।

                 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
665
+1
0
+1
555
+1
777
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *