२२ कात्तिक । खोटाङको बराहपोखरी गाउँपालिकामा गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी पौष ३ गतेदेखि सञ्चालन हुने भएको छ। गाउँपालिकाको खेलमैदानमा ३ गतेदेखि ५ गतेसम्म तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको हो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको २०८३ कात्तिक १६ गतेको निर्णयअनुसार प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले जानकारी दिनुभयो। प्रतियोगितामा चालु शैक्षिक सत्र २०८३ मा कक्षा १२ सम्म नियमित अध्ययनरत १८ वर्षमुनिका छात्रछात्राले सहभागिता जनाउन पाउने भएका छन्। सहभागी हुन इच्छुक विद्यालयहरूले निर्धारित फाराम भरी आवश्यक कागजातसहित पौष १ गते कार्यालय समयभित्र गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा खेलाडीहरूको विवरण बुझाउनुपर्ने गाउँपालिकाले निकालेका सूचनामा भनिएको छ ।
प्रतियोगिताअन्तर्गत कबड्डी, विभिन्न दूरीका दौड, रिले दौड, सटपुट, हाईजम्प, लङजम्प, ज्याभलिङ थ्रो तथा त्रिपल जम्पलगायतका खेल समावेश गरिएका छन्। कबड्डीतर्फ प्रत्येक विद्यालयबाट छात्र र छात्राका नौ-नौ जना खेलाडी सहभागी हुन पाउनेछन् भने अन्य व्यक्तिगत प्रतिस्पर्धामा निर्धारित संख्याअनुसार खेलाडी छनोट गर्नुपर्नेछ। प्रतियोगितामा सहभागी खेलाडीहरूले जन्मदर्ता प्रमाणपत्र, आधारभूत तहको अन्तिम परीक्षाको प्रमाणपत्र वा एसईई परीक्षाको प्रमाणपत्रमध्ये आवश्यक कागजात सम्बन्धित विद्यालयबाट प्रमाणित गराई अनिवार्य रूपमा ल्याउनुपर्नेछ। त्यस्तै, खेलाडीहरू निर्धारित विद्यालय पोसाक तथा जर्सीमा परिचयपत्रसहित उपस्थित हुनुपर्नेछ। सबै खेल नकआउट प्रणालीमा खेलाइनेछ भने निर्णायकको निर्णय अन्तिम हुने गाउँपालिकाले निकालेको सूचनामा उल्लेख छ। प्रतियोगितामा प्रथम हुने विद्यालयले ट्रफी, सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यसैगरी, द्वितीय हुने विद्यालयले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित २५ हजार रुपैयाँ, तृतीय हुनेले १५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने विद्यालयले १० हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसैगरी, मार्चपासतर्फ उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई निर्णायकको आधारमा तीन हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष बन्जाराले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागी खेलाडीको आवास तथा खानाको व्यवस्था सम्बन्धित विद्यालयले गर्नुपर्नेछ। खेल अवधिमा चोटपटक लागेमा वा कुनै अप्रिय घटना भएमा सम्बन्धित विद्यालय नै जिम्मेवार हुने व्यवस्था गरिएको छ। आयोजकले खेल अवधिभर प्राथमिक उपचारको प्रबन्ध भने मिलाउने भएको छ । त्यसैगरी, प्रत्येक विद्यालयले खेल शिक्षक तथा टिम प्रशिक्षक अनिवार्य रूपमा खटाउनुपर्नेछ। खेल सुरु हुनुभन्दा कम्तीमा १० मिनेटअघि खेलाडी मैदानमा उपस्थित हुनुपर्ने र तोकिएको मापदण्डविपरीत खेलाडी सहभागी गराएको पाइएमा नियमअनुसार कारबाही गरिने गाउँपालिकाले जनाएको छ। प्रतियोगितामार्फत विद्यालयस्तरमा खेलकुदको विकास, विद्यार्थीको प्रतिभा पहिचान तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
—————————————————————————————————————————————–



