१८ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा सातौँ सोल्मा फुटबल प्रतियोगिताको उपाधि इन्द्रेणीपोखरीले जितेको छ। सोल्मा खेल मैदानमा हिजो मंगलबार सम्पन्न फाइनल प्रतिस्पर्धामा मात्तिमलाई ३-० गोल अन्तरले हराउँदै इन्द्रेणीपोखरीले उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधिसँगै इन्द्रेणीपोखरीले नगद एक लाख २२ हजार दुई सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको मात्तिमले नगद ७७ हजार सात सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको यात्रा तय गरेका खार्मी र लफ्याङले जनही ३३ हजार तीन सय ३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधागत पुरस्कारबाट समेत सम्मान गरिएको छ। प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पाका एञ्जल राई उदीयमान खेलाडी, इन्द्रेणीपोखरीका शुभराज राई उत्कृष्ट गोलरक्षक, सोही ठाउँका सविन भुजेल उत्कृष्ट डिफेण्डर, मात्तिमका युसन राई उत्कृष्ट मिडफिल्डर, इन्द्रेणीपोखरीका विकास राई उत्कृष्ट प्रशिक्षक, मात्तिमका साहेल राई सर्वाधिक गोलकर्ता र इन्द्रेणीपोखरीका विजय राई उत्कृष्ट खेलाडी चयन भएका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार ५५५ र अन्यलाई नगद रु दुई हजार २२२ प्रदान गरिएको सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभएको छ ।
प्रतियोगितालाई थप मनोरञ्जनात्मक बनाउन कात्तिक १५ गते बृहत् सांगीतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा चर्चित गायिका रचना रिमाललगायत राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुतिले दर्शक तथा सहभागीलाई मनोरञ्जन प्रदान गरेको थियो। खेलकुदसँगै सांगीतिक तथा सांस्कृतिक गतिविधि समेटिएको प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद र मनोरञ्जनलाई एकैसाथ जोड्ने अवसर प्रदान गरेको छ। विजेता खेलाडीहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले पुरस्कार वितरण गर्नु थियो । यही कातिक-११ गतेदेखि सुरु भएको खुला अन्तर वडाकप पुरुष फुटबल प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका १२ वडाले सहभागिता जनाएको थियो ।



