२२ कात्तिक, खोटाङ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज नरक चतुर्दशी तथा कुकुर तिहार श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। तिहारको तेस्रो दिनका रूपमा आज घरघरमा कुकुरको पूजा आराधना गरी मीठामीठा परिकार खान दिएर सम्मान प्रकट गरिँदैछ। सामान्यतया यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन मनाइने कुकुर तिहार यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष नरक चतुर्दशी र कुकुर तिहार एकै दिन परेको छ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा चतुर्दशी तिथि परेका दिन नरक चतुर्दशी र कुकुर तिहार मनाउने धार्मिक परम्परा रहेको छ। मानिसको आज्ञापालक, इमानदार तथा सुरक्षाका दृष्टिले भरपर्दो साथीका रूपमा कुकुरलाई लिने गरिन्छ। त्यसैले आज कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मिठामिठा खानेकुरा खुवाएर सम्मान गर्ने चलन छ। यसैगरी नरक चतुर्दशीका अवसरमा आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थस्थल, नदी तथा तलाउमा पुगेर स्नान गर्ने धार्मिक विधिसमेत रहेको छ। तिथिको घटबढका कारण यस वर्ष आज बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा पनि एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।



