१९ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा सञ्चालन भएको सातौँ संस्करणको ‘सोल्मा अन्तर वडा कप पुरुष फुटबल प्रतियोगिता-२०८३’ सम्पन्न भएको छ। प्रतियोगिताको समापनका अवसरमा खेलकुद पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा खोटाङ खबर डटकमका प्रबन्ध निर्देशक सुनिल श्रेष्ठ सम्मानित हुनुभएको छ। जिल्लाको खेलकुद क्षेत्रको गतिविधि, स्थानीय खेलाडीको प्रतिभा र खेलकुद प्रतियोगिताहरूलाई सञ्चारमाध्यममार्फत आम नागरिकमाझ पु¥याउन पत्रकारिताका माध्यमबाट पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै श्रेष्ठलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। उहाँलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
सञ्चार क्षेत्रसँगै जिल्लाको खेलकुद गतिविधिको प्रचारप्रसारमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठले स्थानीय स्तरमा आयोजना हुने विभिन्न खेलकुद प्रतियोगिता, खेलाडीका उपलब्धि तथा खेलकुद क्षेत्रका सम्भावना र चुनौतीलाई समाचारका माध्यमबाट निरन्तर उजागर गर्दै आउनुभएको छ। विशेषगरी जिल्लाका ग्रामीण तथा स्थानीय तहमा हुने खेलकुद गतिविधिले पर्याप्त सञ्चारमाध्यममा स्थान पाउन नसकिरहेको अवस्थामा उहाँले स्थानीय खेलकुदलाई प्राथमिकतामा राखेर समाचार सगैँ सूचना सम्प्रेषण गर्दै आउनुभएको छ। सातौँ संस्करणको ‘सोल्मा अन्तर वडा कप पुरुष फुटबल प्रतियोगिता-२०८३’ यहि कात्तिक ११ गतेदेखि सञ्चालन भएको थियो। विभिन्न वडाका फुटबल टोलीहरूको सहभागितामा सञ्चालन गरिएको प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो। प्रतियोगितामा खेलाडीहरूले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै दर्शक तथा खेलप्रेमीलाई उत्साहित बनाएका थिए।
वडास्तरबाटै फुटबल खेलको विकास गर्ने, स्थानीय प्रतिभावान् खेलाडीको पहिचान गर्ने, युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने र वडाहरूबीच आपसी सद्भाव तथा एकता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। सातौँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताले निरन्तरता पाउनु आफैँमा स्थानीय खेलकुद विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पछिल्लो समय खोटाङमा फुटबलप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा सोल्मा अन्तर वडा कपले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ। यस्ता प्रतियोगिताले खेलाडीमा अनुशासन, सामूहिक भावना, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न सहयोग पु¥याउनुका साथै युवाहरूलाई सकारात्मक तथा सिर्जनात्मक गतिविधिमा जोड्नसमेत भूमिका खेल्ने विश्वास गरिएको छ।
सोल्मा खेल मैदानमा मंगलबार सम्पन्न फाइनल प्रतिस्पर्धामा मात्तिमलाई ३-० गोल अन्तरले हराउँदै इन्द्रेणीपोखरीले उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधिसँगै इन्द्रेणीपोखरीले नगद एक लाख २२ हजार दुई सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको मात्तिमले नगद ७७ हजार सात सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको यात्रा तय गरेका खार्मी र लफ्याङले जनही ३३ हजार तीन सय ३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।



