२० कात्तिक, खोटाङ । जिल्ला अस्पताल खोटाङको मा ५० शैयाको क्षमतासहित निर्माण गरिएको नयाँ भवन औपचारिक रूपमा अस्पताललाई हस्तान्तरण गरिएको छ। लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको चारतले भवन निर्माण कार्य सम्पन्न भएपछि अस्पताल प्रशासनलाई जिम्मा लगाइएको हो। सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको समन्वय तथा निगरानीमा निर्माण गरिएको उक्त भवन कात्तिक १९ गते जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो। सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख इन्जिनियर सुरोज पौडेलले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पुष्कल राईलाई भवनको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो।
अस्पतालको नयाँ भवन निर्माणका लागि भ्याटसहित २२ करोड ९० लाख ४७ हजार रुपैयाँ लागत लागेको जनाइएको छ। श्याम सुन्दर-रामसागर-नेपाल फूलबारी जेभीले निर्माणको जिम्मा पाएको उक्त भवन निर्धारित समयभन्दा करिब तीन वर्ष ढिलो गरी सम्पन्न भएको हो। कम्पनीले ३० महिनाभित्र काम सक्ने गरी २०७८ साल असार २४ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार निर्धारित समयमै निर्माण सम्पन्न हुन नसकेपछि पटक-पटक गरी तीनपल्ट म्याद थप गरिएको थियो। त्यसपछि ४० मिटर लम्बाइ र साढे २० मिटर चौडाइ रहेको चारतले भवन निर्माण सम्पन्न भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।
नवनिर्मित भवन सञ्चालनमा आएपछि अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाको विस्तार, बिरामीको उपचार व्यवस्थापन तथा आवश्यक पूर्वाधारको अभाव कम गर्न नयाँ भवन उपयोगी हुने विश्वास गरिएको छ। जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले भवन निर्माण सम्पन्न भई अस्पताललाई हस्तान्तरण हुनु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ। लामो समयको प्रतीक्षापछि निर्माण सम्पन्न भएको ५० शैयाको भवनले जिल्लावासीलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



