Skip to main content

Khotang Khabar

व्याकुल माइला गोल्डकपको फाइनलमा सप्तरङ्गी र ज्वालामुखी

Advertisement

 

१६ कात्तिक खोटाङ । ओखलढुङ्गाको सोक्मटारमा जारी १०औँ व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि ज्वालामुखी युवा क्लब र सप्तरङ्गी युवा समूहबीच प्रतिस्पर्धा हुने भएको छ। आज सम्पन्न सेमिफाइनल खेलमा ज्वालामुखी युवा क्लबले दुधकोशी आधारभूत विद्यालयको टोलीलाई १-० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। त्यस्तै, दोस्रो सेमिफाइनलमा सप्तरङ्गी युवा समूहले मानेभञ्ज्याङ युवा समूहलाई ट्राइब्रेकरमा ४-३ गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो। यसैगरी, तेस्रो रुपा स्मृति महिला फुटबल कपको उपाधिका लागि खोटाङ र ओखलढुङ्गाका टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। ओखलढुङ्गाले सिन्धुलीको फिक्कल गाउँपालिकाको टोलीलाई र खोटाङले उदयपुरको टोलीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्। पुरुषतर्फको १०औँ व्याकुल माइला गोल्डकप र महिलातर्फको रुपा स्मृति महिला फुटबल कपको फाइनल खेल भोलि आयोजना हुने आयोजक नयाँ नेपाल सरोकार समाजले जनाएको छ।

राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) को सम्मानमा आयोजना गरिएको गोल्डकपको विजेताले नगद ३ लाख ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले १ लाख ५० हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक व्याकुल माइला गोल्डकप मूल समारोह समितिका संयोजक मिलनकुमार राईले जानकारी दिनुभयो। त्यस्तै, सेमिफाइनलमा पुगेका  दुवै टोलीले जनही ४०- ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फको प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी अन्य दुई टोलीलाई जनही ५ -५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। यसअघि हिजो कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङवा (लिम्बू) ले प्रतियोगिताको अवलोकनसमेत गर्नुभएको थियो।

—————————————————————————————————————————————–

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
301
+1
0
+1
400
+1
8
+1
600
+1
7
+1
8

Leave a Reply

Your email address will not be published. Required fields are marked *