१४ कार्तिक। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कका धर्मराज पोखरेल लोकगायकका रूपमा मात्र नभई कृषि अभियन्ता, राजनीतिज्ञ, समाजसेवी तथा इन्जिनियरका रूपमा समेत परिचित व्यक्तित्व हुन्। गीत-संगीत, कृषि, राजनीति, समाजसेवा र प्राविधिक क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका पोखरेललाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनिन्छ। नेपाली लोकसंगीतको क्षेत्रमा पोखरेलका विभिन्न गीतहरू सार्वजनिक भएका छन्। तीमध्ये ‘खोटाङमध्ये बसेरी’, ‘रारातलैमा’ र ‘दुईदिने चोला’ लगायतका गीत चर्चित छन्। नेपाली लोकजीवन, मौलिक संस्कृति, मायाप्रेम र जीवनका विविध अनुभूतिलाई लोकगीतमार्फत प्रस्तुत गर्दै आएका पोखरेलले सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्।
खोटाङको गाउँबस्तीमा जन्मिएर लोकसंगीतमा सक्रिय रहनु र आफ्ना सिर्जनामार्फत नेपाली मौलिक लोकभाकालाई जीवन्त राख्ने प्रयास गर्नु उनको सांगीतिक यात्राको महत्त्वपूर्ण पक्ष हो। गीत-संगीतसँगै पोखरेलको अर्को महत्त्वपूर्ण परिचय कृषि अभियन्ताका रूपमा रहेको छ। गाउँमै बसेर कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउन सकिन्छ भन्ने सोचका साथ उनले विजयखर्कमा ‘विजय अर्गानिक भिलेज कम्पनी प्रालि’ स्थापना गरी कृषि उद्यम सञ्चालन गरेका थिए। कृषि क्षेत्रमा आधुनिक सोच र व्यावसायिक योजनासहित अघि बढेका उनले पशुपालन, फलफूल खेती, तरकारी खेती तथा माछापालनलगायतका गतिविधिलाई एकीकृत रूपमा अघि बढाउने प्रयास गरेका छन्। कृषि उद्यमसँगै सामाजिक तथा विकास निर्माणका गतिविधिमा समेत सक्रिय पोखरेल कुनै औपचारिक पदमा नरहे पनि आफ्नो गाउँठाउँको विकासका लागि निरन्तर पहल गर्दै आएका व्यक्तिका रूपमा परिचित छन्। स्थानीयवासीका आधारभूत आवश्यकतासँग जोडिएका विकास योजनालाई अगाडि बढाउन उनले विभिन्न समयमा पहल र प्रयास गरेको बताइन्छ। विजयखर्क खानेपानी योजना आफ्नै पहलमा सञ्चालनमा आएको पोखरेलले बताएका छन्। त्यस्तै, बाटोघाटोको पुनर्निर्माण, मन्दिर निर्माणलगायतका विभिन्न विकास निर्माणका काममा समेत आफू सक्रिय रहँदै आएको उनको भनाइ छ। अन्यायका विरुद्ध आवाज उठाउने र न्यायको पक्षमा उभिने स्वभावका कारण पनि उनी गाउँमा जुझारु युवाका रूपमा चिनिन्छन्।
नेपालका ग्रामीण क्षेत्रमा युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिने र खेतीयोग्य जमिन बाँझो रहने समस्या बढिरहेका बेला गाउँमै कृषि उद्यम सञ्चालन गर्ने उनको सोचले स्थानीय युवालाई कृषितर्फ आकर्षित गर्ने सम्भावना बोकेको छ। कृषि उत्पादनलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट व्यावसायिकतातर्फ लैजानुपर्ने आवश्यकतालाई पनि उनको प्रयासले स्मरण गराउँछ। राजनीतिक क्षेत्रमा पनि पोखरेलको सक्रियता रहेको छ। नेपाली कांग्रेससँग आबद्ध उनी पार्टीको महाधिवेशन प्रतिनिधिसमेत रहेका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिने सन्दर्भमा उनको नाम चर्चामा आएको थियो। पछि उनले उम्मेदवारी फिर्ता लिएर तीर्थराज भट्टराईलाई समर्थन गरेका थिए। काठमाडौंमा विजय इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गर्दै आएका उनको परिचयले प्राविधिक तथा व्यावसायिक क्षेत्रमा समेत उनको संलग्नता रहेको छ । खोटाङ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले मात्र नभई प्रतिभा र सम्भावनाका हिसाबले पनि महत्त्वपूर्ण जिल्ला हो। यहाँ जन्मिएका कलाकार, उद्यमी, प्राविधिक तथा सामाजिक व्यक्तित्वहरूले जिल्लाको पहिचान फराकिलो बनाउन भूमिका खेलिरहेका छन्। यसै सन्दर्भमा विजयखर्कका धर्मराज पोखरेलको बहुआयामिक परिचय पनि खोटाङको स्थानीय प्रतिभा र सम्भावनाको एउटा उदाहरणका रूपमा लिन सकिन्छ।




