Skip to main content

Khotang Khabar

खोटाङमा रातिदेखि निरन्तर वर्षा, जनजीवन प्रभावित हुन सक्ने जोखिमस सतर्क रहन प्रशासनको आग्रह

Advertisement

 

१३ कार्तिक खोटाङ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले देशका पूर्वी तथा मध्य भूभागमा वर्षा र हिमपात भइरहेको बेला खोटाङ जिल्लामा पनि गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ । जिल्लाका विभिन्न क्षेत्रमा रातिदेखि सुरु भएको वर्षा जारी रहेपछि जनजीवन प्रभावित हुन सक्ने देखिएको छ ।मौसममा आएको परिवर्तनसँगै जिल्लाको तापक्रममा गिरावट आएको छ भने चिसोसमेत बढेको छ । लगातारको वर्षाले ग्रामीण सडक, कृषि क्षेत्र, दैनिक ज्यालादारीमा निर्भर नागरिक तथा आवतजावत गर्ने यात्रुहरू प्रभावित हुन सक्ने अवस्था सिर्जना भएको छ । विशेषगरी कच्ची तथा ग्रामीण सडकमा हिलो, चिप्लोपन र पहिरोको जोखिम बढ्न सक्ने भएकाले यात्रामा सावधानी अपनाउनुपर्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात ‘अर्नब’को प्रभावका कारण देशका पूर्वदेखि लुम्बिनी प्रदेशसम्मका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हिमाली क्षेत्रमा हिमपातसमेत भइरहेको छ । पछिल्लो छ घण्टामा काभ्रेमा सबैभन्दा धेरै २० मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा रातिदेखि नै निरन्तर झरी परेको छ । महाशाखाले आज देशका विभिन्न प्रदेशमा अझ ठूलो वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक-दुई स्थानमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

खोटाङसहित कोशी प्रदेशका पहाडी जिल्लामा भइरहेको वर्षाका कारण खोला तथा खोल्सामा पानीको बहाव बढ्न सक्ने, भिरालो जमिनमा पहिरो जान सक्ने र कमजोर भूभागमा भूक्षयको जोखिम हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । विशेषगरी नदी तथा खोलानजिक बसोबास गर्ने परिवार, पहिरोको जोखिमयुक्त बस्ती र ग्रामीण सडक आसपासका बासिन्दाले मौसमको अवस्थालाई ध्यान दिनुपर्ने देखिन्छ । आज रातिसमेत देशका केही स्थानमा ठूलो वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान छ । भोलि पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्हरूका अनुसार भोलि बेलुकादेखि वर्षा गराउने मौसमी प्रणाली क्रमशः कमजोर हुँदै बाहिरिने सम्भावना छ । त्यसपछि पर्सि आइतबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने अनुमान गरिएको छ । आइतबार देशभर आंशिक बदली रहने तथा हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने भए पनि ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै भोलिसम्म देशका विभिन्न क्षेत्रमा हावाहुरी, चट्याङ, हिमआँधी तथा ठूलो वर्षाको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्राधिकरणले सम्भावित वर्षा, बाढी, पहिरो, चट्याङ र हिमपातबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सचेत रहन, जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचनाको नियमित जानकारी लिन आग्रह गरेको छ ।

खोटाङमा पनि रातिदेखि वर्षा भइरहेकाले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र निगरानी बढाउनुपर्ने देखिएको छ । सम्भावित विपद्का घटनाबाट बच्न स्थानीय बासिन्दाले पनि विशेष सावधानी अपनाउन आवश्यक छ । लगातार वर्षा भइरहेका बेला पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष ध्यान दिन, खोला तथा नदीमा पानीको बहाव बढेको अवस्थामा तर्न खोज्ने जोखिम नमोल्न, चट्याङ परेको समयमा खुला स्थानमा नबस्न तथा रुखमुनि ओत नलाग्न आग्रह गरिएको छ । मौसमसम्बन्धी पछिल्लो जानकारीका लागि जल तथा मौसम विज्ञान विभाग तथा सम्बन्धित निकायले जारी गर्ने आधिकारिक सूचना हेर्न र विपद्को संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जानसमेत अनुरोध गरिएको छ ।

                     

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
900
+1
0
+1
0
+1
0
+1
88
+1
760
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *