Skip to main content

Khotang Khabar

दशैँ-तिहारमा निर्मलीडाँडा-लामाखुमा खेलकुदको रौनक, फुटबल, रस्साकस्सी र म्युजिकल चेयरसहित विविध प्रतियोगिता हुने

Advertisement

 

८ कर्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा-लामाखुमा नेपालीहरूको महान् चाड विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदानसहित विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ।नेपाली काँग्रेस, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ९ वडा कार्य समिति निर्मलीडाँडा, लामाखुको आयोजनामा  यहि कार्तिक १७ गतेदेखि फुटबलसहित रस्साकस्सी डोरी तान्ने , भाले जुधाउने र महिलाका लागि म्युजिकल चेयर प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। चाडपर्वको अवसरमा आपसी सद्भाव, भाइचारा र एकतालाई थप सुदृढ बनाउने, स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने तथा युवाहरूको सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा स्थानीय युवादेखि महिलासम्मको सहभागिता रहने अपेक्षा गरिएको छ। विभिन्न विधाका खेल समावेश गरिएकाले स्थानीय खेलाडी तथा सर्वसाधारणले आफ्नो रुचि र क्षमताअनुसार प्रतियोगितामा सहभागी हुन पाउनेछन्। प्रतियोगिताअन्तर्गत सबैभन्दा आकर्षणको केन्द्रका रूपमा फुटबल प्रतियोगिता रहने आयोजकले जनाएको छ। फुटबल प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडाको साबिक वडा क्षेत्रभित्रका खेलाडीहरूबीच मात्र सञ्चालन गरिनेछ। फुटबल प्रतियोगितामा प्रथम हुने टोलीले नगद ११ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, दोस्रो हुने टोलीले नगद ७ हजार ७७७ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो हुने टोलीलाई नगद ३ हजार ३३३ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

फुटबल प्रतियोगितामा सहभागी हुन चाहने टोलीले एक हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। साथै, प्रत्येक टोलीले एक हजार रुपैयाँ धरौटी रकमसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगिताका क्रममा खेलाडीले रातो कार्ड प्राप्त गरेमा ३०० रुपैयाँ र पहेँलो कार्ड प्राप्त गरेमा १५० रुपैयाँ जरिवानाबापत धरौटी रकमबाट कट्टा गरिने आयोजकले जनाएको छ।फुटबल प्रतियोगिता फिफाको नियमअनुसार सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी हुने टोली तथा खेलाडीहरूले आयोजकले निर्धारण गरेका नियम तथा सर्त अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजक समितिको निर्णय अन्तिम हुने जनाइएको छ। फुटबल प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले कार्तिक १६ गते बेलुका ४ बजेसम्म आफ्नो टोली दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। निर्धारित समयभित्र टोली दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन आयोजकले सम्बन्धित खेलाडी तथा टोलीहरूलाई आग्रह गरेको छ।

स्थानीयस्तरमा मनोरञ्जन र सामूहिक सहभागिता बढाउने उद्देश्यले रस्साकस्सी अर्थात् डोरी तान्ने प्रतियोगितासमेत सञ्चालन गरिने भएको छ। फुटबल प्रतियोगितामा साबिक वडा क्षेत्रभित्रका खेलाडीलाई मात्र सहभागी गराउने व्यवस्था गरिए पनि रस्साकस्सी प्रतियोगिता भने खुला रूपमा सञ्चालन गरिनेछ। यस प्रतियोगितामा साबिक वडा क्षेत्रभन्दा बाहिरका व्यक्तिहरूले समेत सहभागिता जनाउन पाउनेछन्। रस्साकस्सी डोरी तान्ने प्रतियोगितामा विजेता टोलीलाई नगद ३ हजार ३३३ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन प्रति टोली ३०० रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन भाले जुधाउने प्रतियोगितासमेत आयोजना गरिने भएको छ। उक्त प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले १०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। भाले जुधाउने प्रतियोगिताका विजेतालाई एक भाले पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने व्यक्तिहरूले आयोजकले निर्धारण गरेका नियमअनुसार सहभागिता जनाउनुपर्नेछ। महिलाहरूको सहभागिता र मनोरञ्जनलाई विशेष ध्यानमा राख्दै म्युजिकल चेयर प्रतियोगितासमेत आयोजना गरिने भएको छ। महिलाहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको उक्त प्रतियोगितामा सहभागी हुन कुनै दर्ता शुल्क लाग्ने छैन। म्युजिकल चेयर प्रतियोगितामा विजेता बन्ने महिलालाई नगद २ हजार २२२ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। महिलाहरूलाई पनि खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय रूपमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता समावेश गरिएको हो।

                       

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
90
+1
150
+1
8
+1
0
+1
700
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *