Skip to main content

Khotang Khabar

सोल्मा अन्तर वडा कप फुटबल, आयोजक सोल्माको विजयी सुरुवात, दिक्तेल पराजित

Advertisement

 

१२ कार्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा जारी सातौँ संस्करणको ‘सोल्मा अन्तर वडा कप पुरुष फुटबल प्रतियोगिता २०८३’ मा आयोजक सोल्माले विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा वडा नं १ दिक्तेललाई १–० गोलले पराजित गर्दै वडा नं २ सोल्माले प्रतियोगितामा सुखद सुरुवात गरेको हो। सोल्मा स्पोर्टस् क्लबको आयोजनामा कात्तिक ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो खेलमा सोल्माले आफ्नो घरेलु मैदानमा जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि दिक्तेलले गोल गर्न सकेन । पहिलो हाफमा सोल्माका जर्सी नं ७ का खेलाडी देवान राईले गरेको एकमात्र गोल नै खेलको निर्णायक बन्यो । उक्त गोलसँगै सोल्माले महत्वपूर्ण तीन अंकसहित प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाएको छ ।

स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा वडाबीच आपसी सद्भाव र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । जिल्लाका विभिन्न वडाका टोली सहभागी प्रतियोगितामा यसपटक १२ वटा वडाको सहभागिता रहेको सोल्मा स्पोर्टस् क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद एक लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ७७ हजार ७७७ रुपैयाँ पाउनेछ । त्यस्तै, सेमिफाइनलमा पुग्ने अन्य दुई टोलीलाई जनही ३३ हजार ३३३ रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष ध्रुवबिक्रम राईले जानकारी दिनुभयो ।

व्यक्तिगत विधातर्फ पनि खेलाडीलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही दुई हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको दोस्रो दिन कात्तिक १२ गते आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी र केपिलासगढी गाउँपालिका-३ बास्पानीबीच प्रतिस्पर्धा हुनेछ । जिल्लाका विभिन्न क्षेत्रका टोली सहभागी भएकाले आगामी खेलहरू पनि प्रतिस्पर्धात्मक हुने अपेक्षा आयोजकले गरेको छ ।

फुटबल प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजकले सांगीतिक कार्यक्रमसमेत समावेश गरेको छ । उद्घाटन समारोहमा ‘द भ्वाइस किड्स सिजन-५’ की सेमिफाइनलिस्ट मेरिल राई, सम्बन्ध ब्याण्ड तथा स्थानीय कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । खेलसँगै मनोरञ्जनलाई पनि जोडिएको प्रतियोगिताको समापनका दिन कात्तिक १५ गते साँझ चर्चित गायिका रचना रिमालले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।  खेलकुद र मनोरञ्जनलाई एकैसाथ अघि बढाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै सोल्माको खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ । कात्तिक १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीबीचको प्रतिस्पर्धासँगै दर्शकको उत्साह पनि बढ्ने आयोजकको विश्वास छ ।

               

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3k
+1
0
+1
0
+1
1
+1
700
+1
10k
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *