२० असोज, खोटाङ – नजिकिँदै गरेको दशैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन खोटाङका सरोकारवाला निकायले सुरक्षा तथा सेवा प्रवाहमा कडाइ गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्ला सुरक्षा समिति खोटाङको आयोजनामा सोमबार दिक्तेलमा भएको सर्वदलीय तथा सर्वपक्षीय भेलाले चाडपर्व लक्षित सुरक्षा, यातायात, बजार तथा उपभोक्ता सेवासँग सम्बन्धित सात बुँदे प्रतिबद्धता गरेको हो। चाडपर्वका समयमा मानिसको आवतजावत तथा बजारमा चहलपहल बढ्ने र सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले सम्भावित दुर्घटना, आपराधिक गतिविधि तथा उपभोक्तासँग सम्बन्धित समस्या न्यूनीकरण गर्न सरोकारवाला निकायलाई आ-आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरिएको छ। भेलामा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, राजनीतिक दल, उद्योगी–व्यवसायी, सञ्चार क्षेत्र, होटल व्यवसायी तथा यातायात व्यवसायीका प्रतिनिधिको सहभागिता रहेको थियो।
भेलाले चाडपर्वको अवधिमा जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। जिल्ला प्रहरीले नियमित सुरक्षा गस्ती बढाउनुका साथै आपराधिक गतिविधि हुनसक्ने स्थानको निगरानी गर्ने भएको छ। साथै, सुरक्षा निकायबीच सूचना आदानप्रदान तथा समन्वयलाई थप प्रभावकारी बनाइने भएको छ। त्यसैगरी, चाडपर्वमा सडक तथा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले बजार तथा सडक क्षेत्रमा नियमित गस्ती र चेकजाँच गर्ने, यात्रुलाई आवश्यक सूचनामूलक सन्देश प्रवाह गर्ने तथा मादक पदार्थ र लागुऔषध सेवन गरी सवारी चलाउने कार्यविरुद्ध निगरानी बढाउने भएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी तथा चालकलाई कारबाहीको दायरामा ल्याउँदै यातायात सञ्चालनलाई सुरक्षित र व्यवस्थित बनाउने प्रतिबद्धता गरिएको छ।
भेलाले चाडपर्वका समयमा राजनीतिक दलको भूमिकालाई समेत महत्वपूर्ण मानेको छ। जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न राजनीतिक दलहरूले सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गर्ने भएका छन्। सुरक्षा व्यवस्थासँग सम्बन्धित आधिकारिक सूचना उपलब्ध गराउनुका साथै आवश्यक रचनात्मक सुझाव दिने प्रतिबद्धता दलका प्रतिनिधिले जनाएका छन्। बजार व्यवस्थापनतर्फ खोटाङ उद्योग वाणिज्य संघले उपभोक्ताको आधारभूत अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ। चाडपर्वको अवसरमा वस्तु तथा सेवाको माग बढ्ने भएकाले गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउने र व्यवसायीलाई जिम्मेवार ढङ्गले सेवा प्रवाह गर्न प्रेरित गर्ने विषयमा जोड दिइएको छ।
सञ्चार क्षेत्रले पनि चाडपर्व लक्षित सचेतनामूलक सूचना प्रवाह गर्ने भएको छ। नेपाल पत्रकार महासंघ खोटाङ तथा सञ्चारकर्मीले यात्रु, यातायात व्यवसायी र उपभोक्ताको अधिकार तथा कर्तव्यबारे सूचना सम्प्रेषण गर्ने प्रतिबद्धता जनाएका छन्। सुरक्षित यात्रा, ट्राफिक नियमको पालना तथा उपभोक्ता अधिकारका विषयलाई प्राथमिकताका साथ सञ्चारमाध्यमबाट प्रवाह गरिने भएको छ। चाडपर्वमा जिल्ला बाहिरबाट आउने तथा जिल्लाभित्र यात्रा गर्ने मानिसको संख्या बढ्ने भएकाले होटल तथा आवास सेवामा समेत ध्यान दिइएको छ। होटल व्यवसायी संघ खोटाङले आधारभूत मापदण्डको पालना गर्दै यात्रु तथा उपभोक्तालाई गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ। उचित मूल्यमा खाना तथा बासको व्यवस्था मिलाउने र सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने प्रतिबद्धता गरिएको छ।
यातायात व्यवसायीहरूले सुरक्षित तथा मर्यादित यातायात सञ्चालनका लागि चालक र सहचालकलाई यात्रुसँग शिष्ट व्यवहार गर्न प्रशिक्षण दिने भएका छन्। यात्रुलाई अनिवार्य टिकट उपलब्ध गराउने, तोकिएको स्थानबाट मात्रै यात्रु चढाउने तथा ओराल्ने र चालक तथा सहचालकले मादक पदार्थ तथा लागुऔषध सेवन नगरी सवारी सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।
स्थानीय प्रशासनबाट भएका निर्णय तथा निर्देशनलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने र गराउने विषयमा पनि यातायात व्यवसायीले प्रतिबद्धता जनाएका छन्। चाडपर्वका क्रममा हुनसक्ने सम्भावित दुर्घटना, अपराध, अव्यवस्थित यातायात तथा उपभोक्तासँग सम्बन्धित समस्या न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित वातावरणमा दशैँ, तिहार तथा छठ मनाउने वातावरण बनाउन प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।



