२० असोज । खोटाङको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दसैँलाई लक्षित गर्दै यही असोज २७ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि सुकिला नोट सटही सेवा सञ्चालन गर्ने भएको छ। दसैँमा टीका तथा दक्षिणाका लागि सुकिला नोटको माग बढ्ने भएकाले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै बैंकले तीन दिनसम्म सटही सेवा उपलब्ध गराउन लागेको हो। राष्ट्रिय वाणिज्य बैंक दिक्तेल शाखाका सूचना अधिकारी सुवाष पोखरेलका अनुसार असोज २७ गते मंगलबारदेखि सुरु हुने सुकिला नोट सटही सेवा असोज २९ गतेसम्म सञ्चालन हुनेछ। दसैँको समयमा विशेषगरी दक्षिणा दिनका लागि साना दरका सफा तथा सुकिला नोटको आवश्यकता बढी पर्ने भएकाले सर्वसाधारणलाई सहज रूपमा नोट उपलब्ध गराउने उद्देश्यले सटहीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।
बैंकका अनुसार यस वर्ष एक जना सेवाग्राहीले अधिकतम १८ हजार ५०० रुपैयाँसम्म सुकिला नोट सटही गर्न पाउनेछन्। सेवाग्राहीको आवश्यकता र उपलब्ध नोटका आधारमा तोकिएको सीमाभित्र रहेर नोट सटही गरिने बैंकले जनाएको छ। सटही सेवाअन्तर्गत १ सय, ५०, २०, १० र पाँच रुपैयाँ दरका नोटका एक-एक सेट उपलब्ध गराइनेछ। दसैँमा टीका लगाउँदा आफन्त तथा परिवारका सदस्यलाई दक्षिणा दिने प्रचलन रहेकाले यस्ता साना दरका नोटको माग उच्च हुने गरेको छ। सोही आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न दरका सुकिला नोटको व्यवस्था गरेको हो। दसैँ नेपालीहरूको प्रमुख चाड भएकाले चाडपर्व नजिकिँदै जाँदा बजारमा नगद कारोबारसमेत बढ्ने गर्दछ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा आफन्तलाई दक्षिणा दिने क्रममा नयाँ वा सफा नोट प्रयोग गर्ने परम्परा रहेकाले दसैँको समयमा सुकिला नोटको माग अन्य समयको तुलनामा बढी हुने गरेको पाइन्छ।



