१७ असोज । खोटाङमा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवतजावतका लागि दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। चाडपर्वका समयमा जिल्ला भित्रिने तथा बाहिरिने यात्रुको संख्या बढ्ने र सार्वजनिक यातायातमा विभिन्न समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दिक्तेलबजार र जिल्लाको प्रमुख प्रवेश नाका जयरामघाटमा सहायता कक्ष स्थापना गरेको हो। चाडपर्व अवधिभर यी सहायता कक्षमार्फत यात्रुलाई आवश्यक जानकारी उपलब्ध गराउने, सार्वजनिक यातायातमा देखिने समस्या तथा गुनासो सुन्ने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ।
दसैँ, तिहार र छठजस्ता ठूला पर्वको समयमा रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि बाहिर रहेका नागरिक घर फर्किने र आफन्तकहाँ जाने क्रम बढ्ने भएकाले सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्ने गर्दछ। यात्रुको चाप बढेसँगै क्षमताभन्दा बढी यात्रु राख्ने, तोकिएकोभन्दा बढी भाडा असुल गर्ने, टिकट नदिने तथा सवारी सञ्चालनमा लापरबाही गर्नेजस्ता समस्या देखिन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा सहायता कक्षले सहयोग पुग्ने ट्राफिक प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र कार्कीले चाडपर्वको समयमा जिल्लामा प्रवेश गर्ने र बाहिरिने यात्रुलाई लक्षित गरी दुई स्थानमा सहायता कक्ष सञ्चालन गरिएको बताउनुभयो। यात्रुले यात्राका क्रममा भोग्न सक्ने समस्या तत्काल सम्बोधन गर्नुका साथै यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन सहायता कक्ष सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ।
सहायता कक्षमा यात्रुले सार्वजनिक यातायातसँग सम्बन्धित गुनासो तथा समस्या राख्न सक्नेछन्। टिकट नपाएको, तोकिएकोभन्दा बढी भाडा मागिएको, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राखिएको वा यात्राका क्रममा अन्य समस्या देखिएमा यात्रुले प्रहरीलाई जानकारी गराउन सक्नेछन्। प्राप्त गुनासोका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने ट्राफिक प्रहरीले जनाएको छ। यसैगरी, सहायता कक्षबाट यात्रुलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी जानकारीसमेत प्रदान गरिने भएको छ। लामो दूरीको यात्रा गर्दा अपनाउनुपर्ने सावधानी, सार्वजनिक सवारीमा यात्रा गर्दा टिकट लिनुपर्ने तथा सवारी सञ्चालनका क्रममा नियमविपरीतका गतिविधि देखिएमा प्रहरीलाई जानकारी गराउनुपर्ने विषयमा यात्रुलाई सचेत गराइनेछ।
चाडपर्वको समयमा सवारी साधन र यात्रुको चाप बढ्दा सडक दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले चालक तथा यातायात व्यवसायीलाई विशेष सावधानी अपनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ। तीव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने तथा सवारीको क्षमताभन्दा बढी यात्रु नराख्न चालकलाई सचेत गराइएको छ।



