८ असोज खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि १० दिने आधारभूत तालिम सुरु भएको छ। गाउँपालिकाको समन्वय तथा स्वास्थ्य कार्यालय खोटाङको आयोजनामा आज बिहीबारदेखि तालिम सञ्चालनमा आएको हो। दिप्रुङ चुइचुम्मा गाउँपालिका-याड्सोलाटारमा सुरु भएको तालिमको उद्घाटन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुस्ताक अहमद मंसुरको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगरको प्रमुख आतिथ्यतामा भएको थियो। उद्घाटन कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यकर्मी तथा कर्मचारी, अन्य कर्मचारी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।
असोज ८ देखि १७ गते १० दिनसम्म सञ्चालन हुने तालिममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्दै समुदायस्तरमा प्राथमिक स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइने जनाइएको छ। तालिममा विशेषगरी मातृ तथा बाल स्वास्थ्य, पोषण, सरसफाइ, रोगको रोकथाम तथा प्राथमिक स्वास्थ्य सेवासम्बन्धी विषयमा ज्ञान, सीप र व्यवहारिक क्षमता अभिवृद्धि गराइने आयोजकले जनाएको छ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा स्वास्थ्यसम्बन्धी सूचना तथा सचेतना फैलाउने, स्वास्थ्य समस्या पहिचान गरी आवश्यक परामर्श दिने तथा सेवाग्राहीलाई स्वास्थ्य संस्थासम्म जोड्ने काम गर्दै आएका छन्। मातृ तथा बाल स्वास्थ्य प्रवर्द्धनमा समेत उनीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवासँग जोड्न स्वयंसेविकाहरूले निर्वाह गर्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउन तालिम सहयोगी हुने अपेक्षा गरिएको छ। तालिमबाट स्वयंसेविकाहरूको ज्ञान र सीपमा वृद्धि भई समुदायमा स्वास्थ्य सचेतना विस्तार हुनुका साथै प्राथमिक स्वास्थ्य सेवाको पहुँचसमेत प्रभावकारी बन्ने विश्वास गरिएको छ। गाउँपालिकाको समन्वयमा सञ्चालन भइरहेको उक्त १० दिने आधारभूत तालिमले समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै मातृ तथा बाल स्वास्थ्य सुधारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
—————————————————————————————————————————————–
