२८ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीका कारण विस्थापित भएका परिवारका लागि अस्थायी आवास निर्माण गर्न करिब दुई हजार थान बाँसका चित्रा पठाउने तयारी गरेको छ। गत भदौ १० गते आएको भोटेकोसी बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै थुप्रै परिवार विस्थापित भएका थिए। बाढीका कारण घर तथा आवास गुमाएका परिवारका लागि तत्काल अस्थायी टहरा निर्माण गर्न आवश्यक सामग्री सहयोग गर्ने उद्देश्यले नगरपालिकाले चित्रा बुन्ने र पठाउने तयारी अघि बढाएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो।
बाढी प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माणका लागि सुरुमा बाँस उपलब्ध गराउने योजना बनाइएको भए पनि प्रभावित क्षेत्रमा बाँसको तुलनामा चित्राको माग बढी देखिएपछि नगरपालिकाले योजनालाई परिमार्जन गरी चित्रा उपलब्ध गराउने तयारी गरेको नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो। नगरपालिकाका अनुसार बाढी प्रभावित क्षेत्रमा टहरा निर्माणका लागि करिब दुई हजार थान चित्रा बुनेर पठाउने तयारी भइरहेको छ। त्यसका लागि नगरपालिकाभित्रका विभिन्न वडामा चित्रा बुन्ने काम सुरु गरिएको छ।
नगरपालिकाले प्रतिथान ४ सय ५० रुपैयाँका दरले चित्रा खरिद गर्ने तयारी गरेको छ। करिब १० फिट लम्बाइ र साढे ३ फिट चौडाइका चित्रा तयार गरी संकलन गरेर बाढी प्रभावित क्षेत्रमा पठाउने नगरपालिकाको योजना छ। चित्रा खरिद तथा सहयोगका लागि आवश्यक रकम नगरपालिकाका जनप्रतिनिधिबाट जुटाउने निर्णय यसअघि नै गरिएको थियो। गत भदौ १८ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढीपीडितका लागि बाँसको टहरा निर्माण गर्न नगरपालिका क्षेत्रभित्रका जनप्रतिनिधिबाट ९ लाख ९९ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।
उक्त रकम बाँस खरिद, ढुवानीलगायतका काममा खर्च गर्ने निर्णय भए पनि बाढी प्रभावित क्षेत्रमा बाँसको तुलनामा चित्राको माग बढी रहेको जानकारी आएपछि सोहीअनुसार सहयोगको योजना बनाइएको नगरपालिकाले जनाएको छ। नगर प्रमुख भट्टराईका अनुसार चित्रा वडा-वडामा तयार पारिनेछ। वडाहरूमा बुनेर तयार गरिएका चित्रा नगरपालिकाले संकलन गर्ने र त्यसपछि आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रमा पठाइनेछ। हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङबाट ४ सय थान, वडा नम्बर ६ नेर्पाबाट २ सय थान, वडा नम्बर ७ दोर्पा चिउरीडाँडाबाट २ सय थान र वडा नम्बर १० पाथेकाबाट २ सय थान चित्रा तयार गर्ने टुंगो लागेको नगरपालिकाले जनाएको छ। अन्य वडाबाट पनि आवश्यकता र सम्भावनाका आधारमा चित्रा तयार गर्ने तथा आर्थिक सहयोग गर्ने तयारी भइरहेको बताइएको छ।
बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्न नगरपालिकाका केही वडा तथा स्थानीय संस्थाहरूले बाँससमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ, वडा नम्बर ६ नेर्पा, वडा नम्बर ७ दोर्पा चिउरीडाँडा, वडा नम्बर १२ जाल्पा तथा ज्येष्ठ नागरिक संघबाट एक–एक ट्रक बाँस उपलब्ध गराउने निश्चित भएको नगरपालिकाले जनाएको छ। त्यस्तै, बाँकी रहेका अन्य वडाहरूले भने प्रतिवडा १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। यसरी संकलन हुने रकम तथा सामग्रीलाई बाढीपीडितको आवास निर्माणमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ।
नगर प्रमुख भट्टराईले बाढीपीडितलाई तत्काल राहत तथा अस्थायी आवासको आवश्यकता रहेकाले स्थानीय तहको तर्फबाट सक्दो सहयोग गर्न लागिएको बताउनुभयो। उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा टहरा निर्माणको काम प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल सरकार तथा बाँसको क्षेत्रमा काम गरिरहेका सम्बन्धित संघ–संस्थासँग समन्वय र सहकार्य गरिनेछ। “बाढीका कारण घरबारविहीन भएका नागरिकलाई तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न आवश्यक छ। प्रभावित क्षेत्रबाट बाँसको चित्राको माग आएपछि स्थानीयस्तरमै चित्रा तयार गरी पठाउने तयारी गरेका हौँ,” नगर प्रमुख भट्टराईले भन्नुभयो। नगरपालिकाले वडाहरूमा तयार गरिएका चित्रा संकलन गरी निर्धारित स्थानमा ढुवानी गर्ने र सम्बन्धित निकायसँगको समन्वयमा अस्थायी टहरा निर्माणमा प्रयोग गर्ने योजना बनाएको छ। सहयोग रकममध्ये चित्रा खरिद, ढुवानी तथा अन्य आवश्यक व्यवस्थापनमा खर्च गरेपछि बाँकी रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तयारीसमेत गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले वडा तहबाट चित्रा उत्पादन तथा संकलनको कामलाई तीव्रता दिने र आवश्यक प्रक्रिया पूरा गरी छिट्टै बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिरहेको जनाएको छ।
—————————————————————————————————————————————–


