२७ भदौ, खोटाङको साकेला गाउँपालिका-३ खिदिमा स्थित किवा पुङमा टोलमा स्थानीयवासीको सक्रिय सहभागितामा श्रमदानमार्फत करिब दुई किलोमिटर गोरेटो बाटो मर्मत तथा सुधार गरिएको छ। किवा टोल सुधार समितिको आयोजनामा गरिएको श्रमदानमा स्थानीयवासीसहित विभिन्न स्थानका करिब ७६ जनाको सहभागिता रहेको थियो। समितिका अध्यक्ष जितेन्द्र राईको नेतृत्वमा भएको श्रमदानबाट किवाको देवीथानदेखि बाखोर भञ्ज्याङसम्मको करिब दुई किलोमिटर गोरेटो बाटो मर्मत तथा सुधार गरिएको हो।
लामो समयदेखि नियमित मर्मतसम्भारको अभावमा बाटो जीर्ण बन्दै गएपछि स्थानीयवासीले सामूहिक रूपमा श्रमदान गरेर बाटो सुधार गर्ने अभियान सञ्चालन गरेका हुन्। श्रमदानका क्रममा बाटोमा उम्रिएका झाडी तथा झारपात हटाउने, भत्किएका तथा बिग्रिएका स्थानहरू मिलाउने र पैदल यात्राका लागि सहज बनाउनेलगायतका काम गरिएको जनाइएको छ। श्रमदानमा साकेला गाउँपालिका-३ खिदिमाका स्थानीयवासीसँगै दिप्रुङ चुइचुम्मा गाउँपालिका-बास्तला, दिप्लुङ मझौलगायत विभिन्न स्थानका व्यक्तिहरूको समेत सहभागिता रहेको थियो। सार्वजनिक बाटोको संरक्षण तथा मर्मतका लागि स्थानीयवासी एकजुट भएर श्रमदानमा सहभागी भएपछि बाटोको अवस्था सुधार हुनुका साथै समुदायमा आपसी सहकार्य र एकताको भावना समेत बलियो बनेको बताइएको छ।
श्रमदानमार्फत बाटो मर्मत गरिएको विषयमा स्थानीय रबिन्द्र राईले जानकारी दिनुभएको हो। उहाँका अनुसार स्थानीयवासीको सामूहिक सहभागितामा गरिएको श्रमदानले पैदल यात्रु तथा सर्वसाधारणलाई आवतजावतमा सहजता पुग्नुका साथै सार्वजनिक बाटोको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुगेको छ। स्थानीयवासीले आफ्नै गाउँको सार्वजनिक पूर्वाधार संरक्षणका लागि श्रमदानमार्फत गरेको प्रयासले विकास निर्माण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा समुदायको सहभागिताको महत्वसमेत देखाएको छ।
स्थानीय तह तथा अन्य निकायको बजेटको मात्र भर नपरी समुदाय आफैं अग्रसर भएर आवश्यक पूर्वाधारको संरक्षण तथा मर्मत गर्न सकिने उदाहरणका रूपमा समेत यस अभियानलाई लिइएको छ। किवा टोल सुधार समितिले आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता सामाजिक तथा सामुदायिक कामलाई निरन्तरता दिने जनाएको छ। स्थानीयवासीको सक्रिय सहभागिता र सहकार्यबाट सार्वजनिक बाटोको नियमित संरक्षण हुन सकेमा वर्षायामलगायत अन्य समयमा हुने आवतजावतको समस्या समेत कम हुने अपेक्षा गरिएको छ। स्थानीयवासीको सामूहिक श्रम, सहभागिता र सहकार्यबाट देवीथानदेखि बाखोर भञ्ज्याङसम्मको करिब दुई किलोमिटर गोरेटो बाटो मर्मत भएपछि उक्त क्षेत्रका पैदल यात्रु तथा सर्वसाधारणलाई आवतजावतमा थप सहजता हुने भएको छ।
—————————————————————————————————————————————–


