२३ कात्तिक। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी निवासी पेशलकुमार मगर र दुर्गा आले मगरको चार वर्षीय छोरा प्रिजल मगर ११ दिनदेखि कान्ति बाल अस्पताल काठमाडौँको आईसीयू सघन उपचार कक्षमा उपचाररत छन् । यही कातिक-१२ गते सामान्य बान्ता गरेका प्रिजल एक्कासि सिकिस्त बिरामी बनेपछि उपचारका लागि कातिक-१३ गते कान्ति बाल अस्पताल भर्ना गरिएको हो । भर्खर विद्यालय भर्ना गरेर कखरा सिक्दै गरेका प्रिजलको दुवै मृगौला फेल ( काम नलाग्ने ) भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन्। अस्पताल भर्ना गरेको भोलिपल्टबाट आईसीयूमा राखेर उपचार सुरु गरिएको प्रिजलको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल भर्ना गरेपछि अहिलेसम्म पिसाबसमेत नगरेका प्रिजलको उपचार नेपालका कुनै पनि अस्पतालमा सम्भव नहुने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। दिनानुदिन स्वास्थ्य अवस्था बिग्रदै गएको प्रिजललाई कान्ति बाल अस्पतालले भारतको नयाँ दिल्लीस्थित सर गङ्गाराम अस्पताल लैजान सुझाव दिएको छ। भारत लगेर चाँडोभन्दा चाँडो उपचार नगराइए प्रिजलको ज्यानै तलमाथि हुने खतरा रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएको बुबा पेशलकुमारले बताउनुभएको छ । “आफूसँग भएको र आफन्तसँग सापटी लिएको रकमले उपचार गरिरहेका छौँ । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले यहाँ ठीक हुँदैन भनेको छ । बाहिर लगेर उपचार गर्ने खर्च हामीसँगै छैन”, उहाँले भन्नुभयो, “भारतको अस्पतालमा उपचार गर्न रु एक करोड बढी खर्च लाग्छ भन्ने बुझियो । यत्रो पैसा कसरी जुटाउनु सबैले सकेको सहयोग गरेर हाम्रो छोरा प्रिजलको ज्यान बचाइदिन अनुरोध छ ।”
जीवन र मरणको दोसाँधमा रहेका प्रिजलको जीवन रक्षाका लागि सबैले सकेको आर्थिक सहयोग गरिदिनहुन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ‘प्रिजल मगर बचाऔँ’ अभियान सुरु गरिएको छ । प्रिजलको उपचार गर्न परिवारको आर्थिक अवस्थाले नधान्ने भएपछि सहयोग सङ्कलन अभियान सुरु गरिएको अभियानका सदस्य गिरिराज रानामगरले बताउनुभएको छ । प्रिजल मगर बचाऔँ अभियानका सदस्यहरुले आफन्त तथा शुभेच्छुकलाई सामाजिक सञ्जालका साथै प्रत्येक्ष भेट गरेर उपचारमा सहयोग गरिदिन अनुरोध गरिरहेका छन् । आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावका लागि प्रिजलका बुबा पेशलकुमारको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नं. २२७०१००००३१९००१० अथवा क्यूआर उपलब्ध गराइएको छ ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको समयमा प्रिजलको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि परिवार समस्यामा परेका छन् । प्रिजललाई गुणस्तरीय शिक्षा दिलाउन राजधानी काठमाडौँमा कोठा भाडामा लिएर बस्दै आएका पेशलकुमार र दुर्गा एकमात्र सन्तान प्रिजलको दुवै मृगौला फेल भएको कुरा अस्पतालले दिएको रिपोर्ट ९प्रतिवेदन०बाट जानकारी पाएपछि चिन्तित बनेका छन् । तिहारमा चेलीको हातबाट भाइटीका गर्न आफ्नो घर खार्मी आउने तयारी गरिरहेका पेशलकुमार र दुर्गा छोरा प्रिजलको उपचार नेपालमा सम्भव नभएपछि भारत लैजाने योजनामा जुटेका छन् ।

—————————————————————————————————————————————–



