४ कार्तिक खोटाङ। दशैँ भन्नासाथ परिवारसँगको भेटघाट, माइतीघरको आत्मीयता र आफन्तसँग खुसी साटासाट गर्ने क्षण सम्झना आउँछ। तर, आर्थिक अभाव र यातायातको असहजताका कारण चाहना हुँदाहुँदै पनि माइतीघर पुग्न नसक्ने चेलीहरूका लागि खोटाङमा सञ्चालन गरिएको ‘दशैँ-तिहार, चेलीलाई उपहार अभियान २०८३’ सहयोगी बनेको छ। अभियानको दोस्रो दिन आज विजयादशमीको अवसरमा २४ वटा मोटरसाइकल परिचालन गरी ११० जनालाई निःशुल्क यातायात सेवा प्रदान गरिएको छ। चाडपर्वमा यात्रुको चाप बढ्ने र ग्रामीण क्षेत्रमा सार्वजनिक यातायात सहज नहुने अवस्थालाई मध्यनजर गर्दै युवाहरूले सञ्चालन गरेको अभियानले चेलीहरूलाई माइतीघर तथा आफन्तको घरसम्म पुग्न सहज बनाएको हो। विजयादशमीका दिन २४ जना राइडर स्वयंसेवकका रूपमा खटिएर यात्रुलाई गन्तव्यसम्म पुर्याउन सफल भएको अभियानका संयोजक सञ्जयकुमार राईले बताउनु भयो ।
मोटरसाइकल मार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका, खोटाङको केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका-३ स्थित लामीडाँडाको रावुवा बजारलगायत हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न क्षेत्रमा सेवा पुर्याइएको आयोजकले जनाएको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका तथा सार्वजनिक यातायातको सहज पहुँच नभएका नागरिकलाई लक्षित गरी कार्तिक ३ गते मंगलवार हिजो बाट अभियान सञ्चालन गरिएको थियो। दशैँमा टीका थाप्न, माइतीघर पुग्न तथा आफन्तसँग भेटघाट गर्न निस्किएका चेलीहरूलाई निःशुल्क यातायात सेवा उपलब्ध गराएर चाडपर्वको खुसीमा सहभागी गराउने अभियानको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ।
अभियानका संयोजक सञ्जयकुमार राईले चेलीहरूलाई चाडपर्वका बेला आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँका अनुसार विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाहरूले राजनीतिक विचार र आस्थाभन्दा माथि उठेर सामाजिक सेवाको साझा उद्देश्यका साथ २०८१ सालदेखि यो अभियान सञ्चालन गर्दै आएका छन्। राईले अभियानलाई दशैँमा मात्र सीमित नराखी तिहारमा समेत निरन्तरता दिने तयारी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कात्तिक २४ गतेदेखि २६ गतेसम्म तिहारलक्षित निःशुल्क यातायात सेवा सञ्चालन गरिनेछ। यसबाट दाजुभाइलाई भाइटीका लगाउन जाने तथा आफन्तसँग भेटघाट गर्न चाहने चेलीहरूलाई यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ।
अभियानले यातायात सेवा प्रदान गर्नुका साथै चाडपर्वको खुसी सबैसँग बाँड्नुपर्ने सामाजिक भावनालाई पनि उजागर गरेको छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समुदायका लागि समय र साधन खर्चिने युवाहरूको सक्रियताले सामाजिक सेवामा सामूहिक पहलको महत्त्व देखाएको छ। ग्रामीण क्षेत्रमा यातायातको असुविधाका कारण चाडपर्वमा आवतजावत गर्न कठिनाइ भोगिरहेका नागरिकका लागि यस्ता पहल उपयोगी बन्न सक्छन्। पहिलो दिन ५० जनाभन्दा बढीलाई सेवा प्रदान गरेको अभियानले दोस्रो दिन थप ११० जनालाई सेवा प्रदान गरेको छ।




