३ कार्तिक खोटाङ। दशैँमा माइतीघर पुगेर परिवारसँग खुसी साटासाट गर्ने चाहना हुँदाहुँदै पनि आर्थिक अभाव र यातायातको असुविधाका कारण समस्यामा परेका चेलीहरूलाई लक्षित गर्दै खोटाङ जिल्लामा ‘दशैँ-तिहार, चेलीलाई उपहार अभियान २०८३’ सुरु गरिएको छ। खोटाङ जिल्लामा क्रियाशील युवाहरूको समूहले सञ्चालन गरेको उक्त अभियानअन्तर्गत आज कात्तिक ३ गतेदेखि चेलीहरूलाई निःशुल्क यातायात सेवा प्रदान गर्न थालिएको हो। अभियान सुरु भएको पहिलो दिनमै ५० जनाभन्दा बढीले निःशुल्क यातायात सेवाबाट लाभ लिएका छन्। दशैँ मनाउन माइतीघर जाने तथा दशैँपछि पुनः आफ्नो कर्मघर फर्किने चेलीहरूलाई सहज यात्रा गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको अभियानको सचिवालय प्रमुख निराजन ढकालले जानकारी दिनुभयो।
उहाँका अनुसार आज दिप्रुङचुइचुम्मा गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिकालगायतका क्षेत्रमा निःशुल्क यातायात सेवा प्रदान गरिएको छ। खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवा क्षेत्रसम्म पनि अभियानमार्फत सेवा पु¥याइएको उहाँले बताउनुभयो। दशैँको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने तथा भाडा तिर्नसमेत कठिनाइ हुने यात्रुहरूलाई लक्षित गरी युवाहरूले स्वस्फूर्त रूपमा अभियान अघि बढाएका हुन्। दशैँ-तिहारको अवसरमा घरपरिवारसँग भेटघाट गर्न माइतीघर जाने चेलीहरूलाई सहयोग पु¥याउनुका साथै ग्रामीण भेगका नागरिकको यात्रा सहज बनाउने अभियानको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका, यातायातका साधन सहज रूपमा उपलब्ध नहुने स्थानमा बसोबास गर्ने तथा अन्य कारणले यात्रामा कठिनाइ भोगिरहेका महिलालाई अभियानले प्राथमिकतामा राखेको छ।
त्यसैगरी, तिहारको अवसरमा पनि अभियानलाई निरन्तरता दिइने भएको छ। आयोजकका अनुसार कात्तिक २४ गतेदेखि २६ गतेसम्म तिहार लक्षित निःशुल्क यातायात सेवा सञ्चालन गरिनेछ। दशैँमा जस्तै तिहारमा पनि माइतीघर जाने तथा फर्किने चेलीहरूलाई आवश्यकताअनुसार यातायात सुविधा उपलब्ध गराउने योजना बनाइएको छ। यस अभियानमा महिलासँगै बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ। आवश्यकता र परिस्थितिका आधारमा पुरुष यात्रुलाई समेत सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ। चाडपर्वका बेला घर फर्किन चाहने तर यातायातको अभावमा अलमलमा पर्ने नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले अभियानलाई समावेशी बनाइएको बताइएको छ। 
अभियान सञ्चालनका लागि जिल्लाका ४० जना युवाले नाम दर्ता गराएर सहभागिता जनाएका छन्। उनीहरूले मध्यपहाडी लोकमार्ग, सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका ग्रामीण सडकहरूमा सेवा उपलब्ध गराउने योजना बनाएका छन्। सामान्य अवस्थामा करिब ३५ किलोमिटरसम्मको दूरीमा सेवा उपलब्ध गराउने लक्ष्य राखिए पनि यात्रुको आवश्यकता र परिस्थितिअनुसार निर्धारित दूरीभन्दा टाढासम्म समेत सेवा विस्तार गरिएको छ। । जिल्लाका धेरै ग्रामीण सडक कच्ची अवस्थामा रहेकाले यात्रुको सुरक्षा र सवारीसाधनको क्षमतालाई ध्यानमा राखेर सेवा सञ्चालन गरिने जनाइएको छ। युवाहरूले चाडपर्वका बेला घर फर्किने नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको यो अभियान यस वर्ष मात्रै सुरु भएको भने होइन। समूहले विगत तीन वर्षदेखि निरन्तर रूपमा अभियान सञ्चालन गर्दै आएको छ।विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाले २०८१ सालदेखि यो अभियान सञ्चालन गर्दै आएका छन्।दशैंको टीका र भाइटीका मनाउन माइती जाने चेलीलाई लक्षित गरी सुरु गरिएको यो रचनात्मक अभियानको सिको छिमेकी जिल्लामा समेत हुन थालेका छन् ।







