Skip to main content

Khotang Khabar

दिप्रुङका ज्येष्ठ नागरिकलाई वडामै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य सेवा

Advertisement

 

२७ असोज खोटाङ। सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडास्तरमै एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ। दशैंको अवसर पारेर सुरु गरिएको शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, न्यानो सिरक प्रदान तथा स्वास्थ्य परीक्षण र उपचार सेवा एकैसाथ उपलब्ध गराउन थालिएको हो।

गाउँपालिकाले नागरिकलाई सरकारी सेवा लिन टाढा धाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्ने लक्ष्यसहित सोमबारदेखि अभियान सञ्चालनमा ल्याएको हो। विशेषगरी उमेरका कारण हिँडडुल गर्न कठिनाइ हुने ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त व्यक्ति तथा सामाजिक सुरक्षा भत्तामा आश्रित लाभग्राहीलाई लक्षित गरेर वडामै सेवा पु¥याइएको गाउँपालिकाले जनाएको छ। भत्ता बुझ्नकै लागि बैंकसम्म पुग्दा भोग्नुपर्ने झन्झट कम गर्नुका साथै चाडपर्वको समयमा ज्येष्ठ नागरिकलाई सम्मान र राहत प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनु भयो।

गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, हेल्लो डाक्टर कार्यक्रम र सानिमा बैंक दिप्रुङ शाखाको संयुक्त सहकार्यमा शिविर सञ्चालन भइरहेको छ। शिविरमार्फत आर्थिक वर्ष २०८३÷०८४ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गरिँदै छ। भत्ता वितरणलाई मात्र केन्द्रमा नराखी लाभग्राहीको स्वास्थ्य अवस्था र चिसो मौसममा आवश्यक पर्ने न्यानो सामग्रीको व्यवस्थासमेत गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रमअन्तर्गत भत्ता प्राप्त गर्न आएका ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई न्यानो सिरक वितरण गरिएको छ। त्यसैगरी, शिविरमै स्वास्थ्य परीक्षण, स्वास्थ्यसम्बन्धी परामर्श तथा आवश्यक प्राथमिक उपचारका लागि औषधि उपलब्ध गराइएको छ। यसले सामाजिक सुरक्षा भत्ता बुझ्न आएका नागरिकलाई एउटै स्थानबाट विभिन्न सेवा लिन सहज बनाएको छ। विशेषगरी सामान्य स्वास्थ्य जाँचका लागि समेत टाढा जानुपर्ने अवस्थाका नागरिकलाई शिविर उपयोगी हुने अपेक्षा गरिएको छ।

शिविर सञ्चालनको पहिलो दिन सोमबार गाउँपालिकाका वडा नम्बर १ याम्खा र वडा नम्बर ३ छोरम्बुमा सेवा प्रदान गरिएको थियो। गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार याम्खामा १६६ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्तासँगै न्यानो सिरक प्राप्त गरेका छन्। सोही स्थानमा ९६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। यसैगरी, वडा नम्बर ३ छोरम्बुमा १४७ जना लाभग्राहीलाई भत्तासँगै सिरक वितरण गरिएको छ भने ९२ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ।

दुवै वडामा सञ्चालन गरिएको शिविरबाट सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य सेवा र न्यानो सामग्री वितरणको काम अघि बढाइएको हो। अध्यक्ष लोकेन्द्र राईले स्थानीय नागरिकलाई आफ्नै वडाबाट सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत घुम्ती शिविर सुरु गरिएको बताए। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिले सेवा लिन टाढा जानुपर्दा समय, श्रम र खर्चसमेत व्यहोर्नुपर्ने अवस्थालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ। त्यस्तै, हेल्लो डाक्टर कार्यक्रमका संयोजक सुरेश प्रधानले शिविरमा सहभागी नागरिकको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श र सामान्य औषधि वितरणलाई प्राथमिकता दिइएको जानकारी दिए। गाउँमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दा विशेषगरी नियमित स्वास्थ्य जाँच गराउन कठिनाइ हुने ज्येष्ठ नागरिक लाभान्वित हुने उनले बताए। स्वास्थ्य समस्याबारे प्रारम्भिक जानकारी प्राप्त गर्न र आवश्यकताअनुसार थप उपचारका लागि परामर्श लिन शिविर उपयोगी हुने उनको भनाइ छ।

गाउँपालिकाले यो अभियानलाई पहिलो दिनका दुई वडामा मात्र सीमित नराखी सातवटै वडामा विस्तार गर्ने जनाएको छ। आगामी दिनमा सम्बन्धित वडामा पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै सिरक र स्वास्थ्य सेवासमेत उपलब्ध गराउने गाउँपालिकाको योजना छ।

स्थानीय सरकारबाट प्रदान गरिने सेवा नागरिकको घरआँगनसम्म पु¥याउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज बनाउनुका साथै ज्येष्ठ नागरिकको सम्मान र ग्रामीण स्वास्थ्य सेवाको पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। चाडपर्वको अवसरमा सञ्चालन गरिएको कार्यक्रमले ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई राहत प्रदान गर्नुका साथै स्थानीय स्तरमै सेवा प्राप्त गर्न सकिने वातावरण निर्माणमा समेत योगदान पु¥याउने देखिन्छ।

                                                                                                                —————————————————————————————————————————————–

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
50
+1
0
+1
450
+1
0
+1
300
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *