३० असोज खोटाङ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना सुरु भएको थियो । गणना सुरु भएको सात दिनमा २३१ जना निर्वाचित भएको परिणाम सार्वजनिक भएको हो । संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । जसमध्ये २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ । विभिन्न क्लस्टरका आधारमा २३१ जना निर्वाचित भएका हुन् । महाधिवेशन प्रतिनिधिहरूले २३ वटा मतपत्रमार्फत मतदान गरेका थिए ।
सभापति गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति बनेको छ । यसपटक विधानमा व्यापक संशोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको छ । साथै, समावेशिताका आधारमा केन्द्रीय समिति चयन गरिएको छ । कांग्रेसको इतिहासमा पहिलोपटक उपसभापति र महामन्त्री पदमा समेत समावेशिताको अभ्यास गरिएको छ । नयाँ विधानअनुसार वरिष्ठ उपसभापति, महिला उपसभापति र समावेशी उपसभापति एक–एक जना तथा खुला उपसभापति दुई जना निर्वाचित भएका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भए । खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित हुँदा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भए । महामन्त्रीमा खुलातर्फबाट प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भए । संशोधित विधानमा महिलाबाट एक जना महामन्त्री हुने व्यवस्था गरिएअनुसार डा. डिला संग्रौला निर्वाचित भइन् । विधानमा १५ जना सहमहामन्त्री रहने व्यवस्था छ । त्यसमध्ये ११ जना विभिन्न समावेशी समूहबाट निर्वाचित भएका छन् भने बाँकी चार जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।




