२३ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा नागरिक संवादका लागि ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सम्पन्न भएको छ। लागुऔषध दुव्र्यसन नियन्त्रण, नागरिकमा जनचेतना अभिवृद्धि तथा स्थानीय तहमा शान्ति, सुरक्षा र सुशासन कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो। कार्यक्रममा लागुऔषधको बढ्दो प्रयोगले व्यक्ति, परिवार, समाज तथा राष्ट्रमा पार्न सक्ने नकारात्मक असरबारे नागरिकलाई सचेत गराउने विषयमा जोड दिइएको थियो। विशेषगरी युवा तथा विद्यार्थीलाई लागुऔषधको कुलतबाट जोगाउन परिवार, विद्यालय, स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
लागुऔषध दुव्र्यसनले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पार्नुका साथै पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र समग्र सामाजिक सुरक्षामा समेत चुनौती सिर्जना गर्न सक्ने भएकाले यसको नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा गाउँपालिकाले जोड दिइएको छ। लागुऔषधको प्रयोग तथा अवैध कारोबार नियन्त्रण गर्न कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै जनचेतनामूलक अभियानलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। त्यसैगरी, विद्यार्थी तथा युवालाई लागुऔषधको जोखिमबारे समयमै जानकारी गराउने, उनीहरूलाई सकारात्मक गतिविधिमा सहभागी गराउने र दुव्र्यसनमा फस्न सक्ने अवस्थाको पहिचान गरी आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने विषय पनि महत्त्वपूर्ण मानिन्छ। यसका लागि अभिभावक, शिक्षक, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायबीच निरन्तर सहकार्य हुनुपर्ने सन्देश कार्यक्रमले दिएको छ।
यसैबीच, ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रममार्फत नागरिक र जिल्ला प्रशासनबीच प्रत्यक्ष संवाद तथा अन्तरक्रियाको अवसर प्रदान गरिएको छ। यस्ता कार्यक्रमले स्थानीय नागरिकका चासो, गुनासा, समस्या र अपेक्षालाई सम्बन्धित निकायसमक्ष पु¥याउन सहयोग गर्ने अपेक्षा गरिएको छ। नागरिक र प्रशासनबीचको सम्बन्धलाई थप सुमधुर बनाउँदै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, जवाफदेही र नागरिकमैत्री बनाउन यस्ता संवाद कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास गरिएको छ। स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्ने, नागरिकका समस्या र गुनासालाई सम्बोधन गर्ने तथा समाजमा देखिने विभिन्न विकृति र विसङ्गतिविरुद्ध सामूहिक रूपमा अघि बढ्ने वातावरण निर्माण गर्न स्थानीय सरकार र प्रशासनबीचको समन्वय आवश्यक रहन्छ। यसका लागि जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, शिक्षक, विद्यार्थी तथा आम नागरिकको सक्रिय भूमिका अपरिहार्य रहनुपर्ने गाउँपालिकाले बताएको छ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका अध्यक्ष लोकेन्द्र राई प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगर विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, सहायक प्रमुख जिल्ला अधिकारी प्रभात ढकाल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कृष्ण प्रसाद सेठ तथा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक निराजन बस्नेतको उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँपालिकाका सातवटै वडाका वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्य, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, गाउँपालिकाका शाखा प्रमुख र कर्मचारीहरूको सहभागिता रहेको थियो।




