Skip to main content

Khotang Khabar

पाँच पुस्तालाई एउटै यात्रामा जोड्ने कांग्रेसको योजना, युवा र अनुभवी पुस्ताका लागि छुट्टाछुट्टै काउन्सिल

Advertisement

 

१९ असोज, खोटाङ । नेपाली कांग्रेसले पार्टीभित्र विभिन्न पुस्ताका नेता तथा कार्यकर्ताबीच समन्वय र अनुभव आदानप्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले दुई छुट्टाछुट्टै काउन्सिल स्थापना गर्ने प्रस्ताव अघि सारेको छ। काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा नयाँ पुस्ता र अनुभवी पुस्तालाई पार्टीको मूलधारसँग जोड्ने योजना समेटिएको हो।

प्रस्तावअनुसार १८ वर्ष पूरा भएका तर २१ वर्ष नपुगेका युवालाई समेटेर ‘युथ काउन्सिल’ निर्माण गरिनेछ। नयाँ पुस्ताको विचार, आवश्यकता, अनुभव तथा भविष्यप्रतिको अपेक्षालाई पार्टी नेतृत्वसम्म पुर्‍याउने माध्यमका रूपमा यो काउन्सिललाई अघि बढाउने प्रस्ताव गरिएको छ। यसैगरी, लामो राजनीतिक अनुभव र ज्ञान भएका व्यक्तिहरूबाट सुझाव तथा मार्गदर्शन लिन ‘विसडम काउन्सिल’ गठन गर्ने प्रस्ताव गरिएको छ। दुवै काउन्सिलले पार्टी सभापतिसँग प्रत्यक्ष रूपमा छलफल तथा परामर्श गर्ने व्यवस्था प्रस्तावमा राखिएको छ। काउन्सिलबाट प्राप्त सुझावलाई पार्टीको वैधानिक निर्णय प्रक्रियासँग जोडिने उल्लेख छ। यसले युवा पुस्ताको नयाँ सोच र पुरानो पुस्ताको अनुभवलाई एकै ठाउँमा ल्याएर पार्टीलाई पुस्तान्तरणसँगै अघि बढाउन सहयोग पुग्ने कांग्रेसको अपेक्षा छ।

कांग्रेसले संगठनका विभिन्न तहमा महिलाको नेतृत्वदायी भूमिका बढाउने नीति पनि प्रस्ताव गरेको छ। राजनीतिक प्रस्तावमा प्रत्येक तहका पदाधिकारीमध्ये कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने दिशामा संरचनागत सुधार गर्ने उल्लेख गरिएको छ। त्यसका साथै युवा, श्रमिक, मधेसी, दलित, आदिवासी जनजाति, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति तथा लैंगिक र यौनिक अल्पसंख्यक समुदायको सहभागितालाई थप प्रभावकारी बनाउने नीति अघि सारिएको छ। यी समुदायको प्रतिनिधित्वलाई केवल संगठनमा संख्या थप्ने विषयका रूपमा नभई उनीहरूका वास्तविक अनुभव, आवश्यकता र मुद्दालाई पार्टीको नीति निर्माण तहमा समेट्ने गरी अघि बढाइने प्रस्तावमा उल्लेख गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *