१९ असोज खोटाङ । नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति विष्णु कुमार राईले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति समूहबाट केन्द्रीय सदस्य पदका लागि राईले उम्मेदवारी दिनुभएको हो। हालै सम्पन्न नेपाली कांग्रेस खोटाङको अधिवेशनबाट खुलातर्फ ७ सय ७६ मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित राईले आफ्नो लामो राजनीतिक तथा सामाजिक यात्रालाई उम्मेदवारीको प्रमुख आधार बनाउनुभएको छ। जिल्लामा पार्टी संगठन विस्तार, विभिन्न राजनीतिक गतिविधि सञ्चालन तथा पार्टीका विभिन्न तहमा जिम्मेवारी निर्वाह गरेको अनुभवलाई उहाँले केन्द्रीय सदस्य पदको दाबीसँग जोड्नुभएको छ। राईको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि सुरु भएको हो। वि.सं. २०३६ सालको जनमत संग्रहका क्रममा बहुदलको पक्षमा प्रचारप्रसारमा सहभागी हुनुभएका उहाँले त्यसपछि विद्यार्थी संगठनमार्फत राजनीतिक गतिविधिमा सक्रियता बढाउनुभएको थियो।
वि.सं. २०४२ सालको सत्याग्रह तथा २०४६ सालको जनआन्दोलनमा समेत उहाँको सक्रिय सहभागिता रहेको उम्मेदवार परिचयमा उल्लेख गरिएको छ। नेपाली कांग्रेसका विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदै संगठनभित्र जिम्मेवारी सम्हाल्दै आउनुभएका राईले जिल्ला तहदेखि केन्द्रीय प्रतिनिधित्वसम्मको लामो राजनीतिक यात्रा तय गर्नुभएको छ। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि कांग्रेसको केन्द्र र गाउँबीच प्रभावकारी सम्बन्ध स्थापित गर्ने आफ्नो मुख्य उद्देश्य रहेको राईले बताउनुभएको छ। गाउँका नागरिक तथा पार्टी कार्यकर्ताका आवाजलाई केन्द्रीय तहसम्म पु¥याउने र केन्द्रबाट प्राप्त अवसर तथा स्रोतलाई गाउँसम्म जोड्ने भरपर्दो माध्यम बन्ने उहाँको प्रतिबद्धता छ।
राजनीतिक क्षेत्रसँगै राई साहित्य सिर्जनामा समेत रुचि राख्ने व्यक्तिका रूपमा परिचित हुनुहुन्छ। उहाँका प्रकाशित कृतिमा ‘‘फूलकोपिला’ कथासंग्रह’ ‘अनायास’ उपन्यास तथा ‘मनको फ्रेमबाहिर एउटा तस्बिर’ कथासंग्रह रहेकोे छ। खोटाङ कांग्रेसको जिल्ला नेतृत्व सम्हालिसक्नुभएका राईले यसपटक आदिवासी जनजाति समूहबाट केन्द्रीय सदस्यका रूपमा पार्टीको केन्द्रीय तहमा प्रतिनिधित्व खोज्नुभएको हो। लामो राजनीतिक अनुभव, विभिन्न आन्दोलनमा सहभागिता तथा पार्टीका विभिन्न तहमा निर्वाह गरेको जिम्मेवारीलाई आधार बनाएर उहाँले आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा अघि सार्नुभएको छ।



