Skip to main content

Khotang Khabar

चाडपर्व लक्षित हलेसी क्षेत्रमा बजार अनुगमन, म्याद नाघेका अखाद्यवस्तु तथा पेय पदार्थ नष्ट

Advertisement

१५ असोज खोटाङ । चाडपर्व नजिकिँदै गर्दा खोटाङको हलेसी क्षेत्रमा बजार अनुगमन गरिएको छ । उपभोक्ताको स्वास्थ्य तथा खाद्य सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय खोटाङको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, खोटाङ उद्योग वाणिज्य संघलगायतका निकायको संयुक्त टोलीले विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको हो। संयुक्त बजार अनुगमन टोलीले असोज १३ गते हलेसी तुवाचुङ नगरपालिकाका वडा नम्बर ५ दुर्छिम, वडा नम्बर ७ हलेसी बजार र वडा नम्बर १० अर्खौले बजार क्षेत्रमा रहेका किराना पसल तथा दैनिक उपभोग्य वस्तुको अनुगमन गरेको जनाएको छ। यसक्रममा २२ वटा किराना पसलमा पुगेर अखाद्यवस्तु तथा चिसो पेय पदार्थको म्याद, मूल्य, लेबल, गुणस्तर तथा बिक्रीका लागि उपयुक्त अवस्थालगायतका विषयमा निरीक्षण गरिएको थियो।

त्यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थित हस्पिटल चोकदेखि पुरानो पञ्च माध्यमिक विद्यालयसम्मको बजार क्षेत्रसमेत अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका उद्योग अधिकृत भेषराज खत्रीले बताउनु भयो। अनुगमनका क्रममा म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त विभिन्न अखाद्यवस्तु, अखाद्य सामग्री र चिसो पेय पदार्थ बरामद गरिएको थियो। बरामद सामग्रीमा माउण्टेन÷क्याम्पा डिउ, कविर छाप खैनी, चिउरा, बिस्कुट, आटा, चाइनिज रोल, काजु, सुजी पिठो, चकलेट, दालमोठ, मिरिण्डा, चिप्स, मसला, खोर्सानी, जुस, सेतो तील, पानीपुरी, चिजबल, कोक र बेसार रहेका छन्। अनुगमनका क्रममा बरामद सामग्रीमध्ये माउण्टेन÷क्याम्पा डिउको मूल्य ५ हजार ६० रुपैयाँ, कविर छाप खैनीको १० हजार २ सय रुपैयाँ, चिउराको ५ हजार २ सय रुपैयाँ, बिस्कुटको २ हजार ६ सय ५० रुपैयाँ र आटाको ४ हजार ७ सय ७० रुपैयाँ बराबर रहेको जनाइएको छ।

त्यस्तै चाइनिज रोल २ सय ५० रुपैयाँ, काजु ७ हजार २ सय ६० रुपैयाँ, सुजी पिठो २ हजार १ सय ६० रुपैयाँ, चकलेट १ हजार ३० रुपैयाँ, दालमोठ ३ सय २५ रुपैयाँ, मिरिण्डा १ हजार ८ सय रुपैयाँ, चिप्स ८ सय ५० रुपैयाँ र मसला ८ सय ५० रुपैयाँ बराबरको रहेको अनुगमन टोलीले जनाएको छ। यसैगरी खोर्सानी ४ सय २५ रुपैयाँ, जुस ८ सय ५ रुपैयाँ, सेतो तील ३ सय ६० रुपैयाँ, पानीपुरी २ सय ५० रुपैयाँ, चिजबल २ हजार ९ सय रुपैयाँ, कोक १ हजार ५ सय ५० रुपैयाँ र बेसार १ हजार ४ सय रुपैयाँ बराबरको सामग्री बरामद गरिएको थियो।

बरामद गरिएका चिसो पेय पदार्थलाई जिल्ला प्रशासन कार्यालय खोटाङको फोहोर व्यवस्थापन क्षेत्रमा खाल्डो खनी पुरेर नष्ट गरिएको थियो भने दैनिक उपभोग्य अखाद्य वस्तुहरूलाई आगो लगाएर नष्ट गरिएको जनाइएको छ। यस्तै, बजार अनुगमनका क्रममा केही पसलमा बोतलमा अनधिकृत रूपमा पेट्रोल राखिएको समेत फेला परेको र उक्त पेट्रोलसमेत टोलीले नियन्त्रणमा लिएको जनाइएको छ। म्याद नाघेका तथा अखाद्य वस्तु उपभोग गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यस्ता सामग्रीको बिक्री–वितरणमा रोक लगाउँदै बरामद वस्तु नष्ट गरिएको टोलीले जनाएको छ।

विशेषगरी दशैँ, तिहार र छठलगायतका चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ताको चहलपहल बढ्ने भएकाले व्यवसायीले खाद्य सामग्रीको गुणस्तर, म्याद र मूल्यमा विशेष ध्यान दिनुपर्ने देखिएको छ। उपभोक्ताले पनि खाद्य सामग्री खरिद गर्दा म्याद, लेबल, मूल्य, प्याकेजिङ तथा उत्पादनको अवस्थाबारे जाँच गरेर मात्रै खरिद गर्नुपर्नेमा सम्बन्धित निकायले जोड दिएका छन्।

हलेसी खोटाङको प्रमुख व्यापारिक तथा धार्मिक गन्तव्यसमेत भएकाले चाडपर्व तथा अन्य समयमा यहाँ उपभोक्ता र आगन्तुकको चहलपहल बढ्ने गर्दछ। त्यसैले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर कायम राख्न व्यवसायी, उपभोक्ता र सम्बन्धित निकाय सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता देखिएको छ। संयुक्त बजार अनुगमन टोलीले आगामी दिनमा समेत बजारको अवस्था अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

—————————————————————————————————————————————–

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *