Skip to main content

Khotang Khabar

खोटाङमा सातौँ सोल्मा अन्तरवडा कप हुँदै, विजेतालाई १ लाख २२ हजार २२२ रुपैयाँ पुरस्कार

Advertisement

१३ असोज। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा सातौँ सोल्मा अन्तर वडा कप-२०८३ आयोजना हुने भएको छ। सोल्मा स्पोट्र्स क्लबको आयोजनामा आगामी कार्तिक ११ गतेदेखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो। ‘सभ्य समाजका निम्ति अनिवार्य खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिताका सम्पूर्ण खेल सोल्मा खेलमैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ। फुटबल खेलको विकाससँगै स्थानीय खेलाडीको प्रतिभा पहिचान, खेल क्षमता अभिवृद्धि तथा युवालाई सिर्जनात्मक र सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सोल्मा स्पोट्र्स क्लबका सहसचिव अमर श्रेष्ठले बताउनुभयो।

प्रतियोगिताको विजेता टोलीले १ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ७७ हजार ७७७ रुपैयाँ पाउनेछ। यस्तै, सेमिफाइनल पुग्ने दुवै टोलीलाई समान ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा व्यक्तिगततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान २ हजार २२२ रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीलाई ५ हजार ५५५ रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई समान २ हजार २२२ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

यस्तै, प्रतियोगिताको समाचार सम्प्रेषण तथा खेलकुद गतिविधिको प्रचारप्रसारमा योगदान पु¥याउने खेलकुद पत्रकारलाई ५ हजार ५५५ रुपैयाँको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिनेछ। प्रतियोगितामा खोटाङ जिल्लाभित्रका वडाका टोलीले मात्र सहभागिता जनाउन पाउनेछन्। सहभागी टोलीले ५ हजार ५५५ रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। प्रत्येक टोलीमा रहेका सबै खेलाडी एउटै वडाका हुनुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ। टिम दर्ताका क्रममा सम्बन्धित वडा कार्यालयको सिफारिससहित खेलाडीको नाम, थर र ठेगाना खुलेको सक्कल कागजात तथा दुई-दुई प्रति पासपोर्ट साइजको फोटो बुझाउनुपर्नेछ। कुनै खेलाडी फरक वडाको भएको प्रमाणित भएमा सम्बन्धित टोलीलाई २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै तीन वर्षसम्म जिल्लाभर हुने फुटबल प्रतियोगितामा प्रतिबन्ध लगाउन फुटबल संघसमक्ष सिफारिस गरिने आयोजकले जनाएको छ।

बसाइँसराइ गरेका खेलाडीको हकमा भने सूचना प्रकाशन भएको मिति भन्दा कम्तीमा दुई  महिना अघिसम्म बसाइँसराइ प्रमाणित भएको हुनुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगिता ११ ए साइडको हुनेछ। प्रत्येक टोलीले ११ जना खेलाडीबाहेक ६ जना अतिरिक्त खेलाडी, एक जना टिम कोच, एक जना व्यवस्थापक र एक जना मेडिकलसहित बढीमा २० जना सहभागी गराउन पाउनेछन्। प्रतियोगितामा अधिकतम १२ वटा टोलीलाई सहभागी गराइने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो खाने तथा बस्ने व्यवस्था आफैं गर्नुपर्नेछ। खेलका क्रममा घाइते भएमा उपचारलगायतका खर्चसमेत सम्बन्धित खेलाडी वा टोली आफैंले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ। सहभागी खेलाडीले अनिवार्य रूपमा खेल पोशाक लगाउनुपर्नेछ।

त्यस्तै, प्रतियोगितामा सहभागी भइसकेपछि कुनै टोलीले प्रतियोगिता बहिष्कार गर्न नपाउने व्यवस्था गरिएको छ। प्रतियोगिता बहिष्कार गरेमा २० हजार रुपैयाँ जरिवाना गर्नुका साथै आवश्यक थप कारबाही गरिने आयोजकले जनाएको छ। खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्री तथा आयोजकको निर्णय अन्तिम हुने जनाइएको छ। सोल्मा अन्तर वडा कप-२०८३ सोल्मा स्पोट्र्स क्लबको आयोजनामा तथा खोटाङ जिल्ला फुटबल संघको संरक्षणमा सञ्चालन हुनेछ। खोटाङ फुटबल फ्यान्स प्रतियोगिताको मिडिया पार्टनरका रूपमा रहनेछ। प्रतियोगिताले जिल्लाका विभिन्न वडामा रहेका फुटबल खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै स्थानीय प्रतिभाको पहिचान र खेलाडीको क्षमता विकासमा सहयोग पुग्ने आयोजकको विश्वास छ।

—————————————————————————————————————————————–

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
5k
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *