१२ असोज। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मामा तेस्रो खुला साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। ज्यामिरे युवा क्लब तथा सूर्योदय बाल क्लबको आयोजनामा आगामी कात्तिक १६ गतेदेखि २० गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य युवा एकता, सम्मान तथा खेलकुदको विकास र स्तरउन्नतिमा योगदान पु¥याउनु रहेको आयोजकले जनाएको छ। “आफ्नो जन्मथलो आफैं चिनाऔँ, आफैं बनाऔँ” भन्ने भावनासहित आर्थिक विकास र परिवर्तनका लागि युवालाई एकताबद्ध गराउने उद्देश्यसमेत प्रतियोगिताले लिएको खेल संयोजक खेमराज राइले बताउनु भयो।
विजया दशमी तथा शुभ दीपावलीको पावन अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगितासँगै शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने सम्पूर्ण खेलाडी, खेलप्रेमी, बुद्धिजीवी तथा शुभेच्छुकलाई उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। प्रतियोगिताको पुरुषतर्फ प्रथम हुने टिमले रु ७० हजार रुपैयाँको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै दोस्रो हुने टिमलाई रु ५० हजार रुपैयाँ साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। सेमिफाइनलमा पुग्ने टिमका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ। सेमिफाइनलिस्ट टिमले रु १५ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
यस्तै महिला भलिबलतर्फ प्रथम हुने टिमले रु ३० हजार रुपैयाँको साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले रु २० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने सेमिफाइनलिस्ट टिमलाई रु ७ हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर तथा अनुशासित खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुने पुरुष टिमले ५ हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ भने महिला टिमका लागि २ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। प्रवेश शुल्क अनलाइनमार्फत समेत भुक्तानी गर्न सकिने आयोजकले जनाएको छ। सहभागी टिमले २०८३ साल कात्तिक १४ गतेदेखि कात्तिक १६ गते बिहान ९ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ।
आयोजकका अनुसार प्रतियोगिता नकआउट प्रणालीका आधारमा सञ्चालन हुनेछ। प्रतियोगिता साविक वडा स्तरीय हुने भएकाले सम्बन्धित वडाको सिफारिससहित खेलाडीको नामावली अनिवार्य बुझाउनुपर्नेछ। खेलमा सहभागी हुने टिमका प्रत्येक खेलाडीले आफ्नो वडा खुल्ने गरी नागरिकता प्रमाणपत्र पेश गर्नुपर्नेछ। अन्य प्रमाणपत्रलाई मान्यता नदिइने आयोजकले स्पष्ट पारेको छ। खेलाडीले नागरिकताको सक्कल प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। आवश्यक सम्पूर्ण कागजात पूरा नभएको खेलाडीलाई प्रतियोगितामा सहभागी गराइने छैन। त्यस्तै बसाइँसराइ, जन्मदर्ता लगायतका वडाबाट प्राप्त हुने अन्य कुनै पनि सिफारिसलाई मान्यता नदिइने नियममा उल्लेख गरिएको छ। प्रतियोगिताको अवधिमा कुनै खेलाडीलाई चोटपटक लागेमा त्यसको जिम्मेवारी आयोजकले नलिने जनाएको छ। खेलका क्रममा कुनै किसिमको विवाद उत्पन्न भएमा निर्णायक र आयोजकबीचको निर्णय नै अन्तिम निर्णय हुने जनाएको छ।
कुनै खेलाडी अर्को वडाको भएको जानकारी प्राप्त भएमा विपक्षी टिमले खेल सुरु हुनुभन्दा अगाडि ५ हजार ५ सय रुपैयाँ शुल्कसहित निवेदनमार्फत प्रोटेस्ट हाल्न सक्ने व्यवस्था गरिएको छ। प्रोटेस्टको विषय ठहर नभएमा बुझाइएको शुल्क फिर्ता नहुने आयोजकले जनाएको छ। त्यस्तै प्रत्येक टिमले टाइम सेट बन्नुअघि नै प्रवेश शुल्क बुझाइसक्नुपर्नेछ। प्रवेश शुल्क नबुझाएको अवस्थामा सम्बन्धित टिमलाई प्रतियोगितामा सहभागी गराइने छैन। प्रतियोगिताका खेलहरू बेस्ट अफ थ्री प्रणालीमा सञ्चालन हुनेछन् भने सेमिफाइनलदेखि बेस्ट अफ फाइभ प्रणालीमा खेलाइनेछ।
खेल अवधिभर खेलाडीले मादक पदार्थ सेवन तथा धूमपान गर्न र अपशब्द प्रयोग गर्न नपाउने नियम बनाइएको छ। त्यस्तो कार्य गरेको पाइएमा सम्बन्धित खेलाडीलाई खेलमा सहभागी हुन नदिइने आयोजकले जनाएको छ। त्यसैगरी प्रत्येक टिममा खेलाडीको पोशाकसहित ९ जना खेलाडी, एक जना कोच र एक जना म्यानेजर गरी जम्मा ११ जना अनिवार्य हुनुपर्ने नियम राखिएको छ। प्रतियोगिता ज्यामिरे युवा क्लब खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले तोकिएको समयभित्र दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। आयोजकले खोटाङलगायत आसपासका क्षेत्रका खेलाडी तथा खेलप्रेमीलाई प्रतियोगितामा सहभागी भई सफल बनाउन आग्रह गरेको छ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजकले विभिन्न व्यक्तिको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ।
संयोजक खेमराज राई -९८६२७४११७६
सचिव मन्चन राई – ९७४९२१९२१५
सदस्य किरण राई – ९८४०७६१९१५
सदस्य अविजल राई – ९७६९३७४९२७
सदस्य निश्चल राई – ९७४७५६३०३
सदस्य मिसल राई -९७६६३३९६११
दशैं-तिहारको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय खेलाडी तथा खेलप्रेमीबीच आपसी सम्बन्ध र सद्भाव बढाउनसमेत सहयोग पुग्ने आयोजकको विश्वास छ।



