२ असोज, खोटाङमा जिल्ला व्यापी खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हिङ्गमाङ एकता समाज, खोटाङको आयोजना तथा बोलाउ खोटाङको सहकार्यमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगिता आगामी असोज २२ गतेदेखि २५ गतेसम्म दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ। विभिन्न स्थानका फुटबल टोलीलाई सहभागी गराई खेलाडीको प्रतिभा प्रस्फुटन, खेलकुदको विकास तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक डिके-दिनेशले जानकारी दिनुभयो। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज २० गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ताका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता ९ ‘ए’ साइडमा खेलाइनेछ। प्रत्येक टोलीमा १३ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना टिम म्यानेजर गरी जम्मा १५ जना रहने व्यवस्था गरिएको छ। टोलीमा सहभागी खेलाडी तथा व्यवस्थापनसम्बन्धी व्यवस्था आयोजकले तोकेको मापदण्डअनुसार हुनुपर्नेछ।
प्रतियोगिताका सम्पूर्ण खेल फिफाको नियमअनुसार सञ्चालन गरिने खेल संयोजक दिनेशले बताउनुभयो। खेलका क्रममा खेलाडीले रेफ्रीको निर्णयको सम्मान गर्दै अनुशासन तथा खेलको मर्यादा कायम गर्नुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार ५ सय ५५ रुपैयाँ नगदसहित मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, द्वितीय हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ तथा तृतीय हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ नगदसहित मेडल, कप र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ५ जना खेलाडीलाई समेत प्रोत्साहनस्वरूप सम्मान गरिने आयोजकले जनाएको छ। आयोजकले सम्पूर्ण फुटबल टोली, खेलाडी तथा खेलप्रेमीलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकासमा योगदान गर्न तथा प्रतियोगिताका खेल अवलोकनका लागि माटिकोरे खेलमैदानमा उपस्थित हुन आग्रह गरेको छ।
—————————————————————————————————————————————–


