२ असोज खोटाङ, आज देशका विभिन्न ३२ जिल्लामा बाढीको जोखिम रहेको भन्दै सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, हुम्ला, बझाङ र दार्चुलामा बाढीको सम्भावना रहेको हो।
महाशाखाले ती जिल्लाका साना नदी, खोला तथा खोल्सामा पानीको बहाव बढ्न सक्ने जनाएको छ। कतिपय स्थानमा एक्कासि बाढी आउने सम्भावना रहेकाले नदी तथा खोला आसपास बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ। केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, मौसम तथा बाढीसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न र आधिकारिक निकायले जारी गरेका सूचनालाई ध्यान दिन महाशाखाले अनुरोध गरेको छ।
—————————————————————————————————————————————–


