१ आश्विन, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका २१ वर्षीय हिरोन माझीले थप उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्। बुवा उमेश कुमार माझी र आमा रेखा माझीका छोरा हिरोन करिब १० महिनाअघि गाइघाटबाट नेपालटार जाने क्रममा चुवाडे भन्ने स्थानमा मोटरसाइकल र टिपर एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका थिए। दुर्घटनामा हिरोनको हात र खुट्टा भाँचिनुका साथै टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो। दुर्घटनापछि लामो समयदेखि उपचार गराउँदै आएका हिरोनको हाल विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको परिवारले जनाएको छ।
दुर्घटनामा टाउकोमा समेत गम्भीर चोट लागेकाले अझै थप उपचार तथा टाउकोको अप्रेसन गर्नुपर्ने अवस्था रहेको हिरोनले बताएका छन्। उपचारका क्रममा अहिलेसम्म ठूलो रकम खर्च भइसकेको र आगामी उपचारका लागि करिब ३ देखि ४ लाख रुपैयाँसम्म खर्च लाग्न सक्ने भएकाले परिवार आर्थिक समस्यामा परेको जनाइएको छ। लामो समयदेखि उपचार गराउँदै आएका हिरोनले यसअघि विभिन्न व्यक्ति तथा शुभेच्छुकबाट प्राप्त सहयोगले उपचारमा ठूलो राहत पुगेको बताएका छन्। प्राप्त सहयोगका कारण आफू अहिले करिब ७० प्रतिशतसम्म सुधार भएको महसुस गरेको उनको भनाइ छ।

उपचारका क्रममा सहयोग गर्ने सबै सहयोगी मनहरूप्रति धन्यवाद व्यक्त गर्दै हिरोनले आगामी उपचारका लागि पनि सहयोग गरिदिन आग्रह गरेका छन्। “एक थुकी सुकी, सय थुकी नदी”भनेझैँ सबैको सानो-सानो सहयोगले आफ्नो उपचार सम्भव हुने विश्वास व्यक्त गर्दै उनले देश तथा विदेशमा रहेका नेपाली, आफन्त, साथीभाइ तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्। दुर्घटनापछि छोराको उपचारका लागि परिवारले निरन्तर खर्च गर्दै आएको भए पनि लामो समयसम्म उपचार गर्नुपर्ने र टाउकोको अप्रेसनका लागि थप रकम आवश्यक पर्ने भएपछि सहयोगको आवश्यकता परेको परिवारको भनाइ छ।
परिवारका अनुसार सबैको साथ, सहयोग र सद्भावबाट हिरोनको बाँकी उपचार पूरा गरी उनलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। हिरोन खोटाङ जिल्लाको क्षेत्रीय भलिबल खेलाडीसमेत हुन्। उनी विभिन्न क्षेत्रीयस्तरका भलिबल प्रतियोगितामा सहभागी हुँदै आएका थिए। दुर्घटनाका कारण लामो समयदेखि उपचारमा रहनुपरेपछि उनको खेल गतिविधिसमेत प्रभावित भएको परिवारले जनाएको छ।
—————————————————————————————————————————————–हिरोनको उपचारमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाले ९७०३२०७७९७ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्नेछन्। परिवारले आफ्नो अवस्थालाई बुझेर उपचारमा सक्दो सहयोग गरिदिन सबैसँग आग्रह गरिएको छ ।


