१ आश्विन खोटाङ, दिक्तेल बजारमा लगातार तेस्रो दिन बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय खोटाङ, घरेलु तथा साना उद्योग कार्यालय, खोटाङ उद्योग वाणिज्य संघ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत सम्बन्धित निकायका प्रतिनिधिको सहभागितामा बिहीबार (आश्विन १ गते) आज पनि बजार अनुगमन गरिएको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित हाटडाँडादेखि हस्पिटल चोकसम्मका करिब १८ वटा किराना पसलमा गरिएको निरीक्षणका क्रममा बिक्रीका लागि राखिएका म्याद गुज्रिएका तथा उपभोगका लागि अनुपयुक्त अखाद्य वस्तु फेला पारी नष्ट गरिएको छ। अनुगमन टोलीले पसलमा रहेका खाद्य तथा उपभोग्य सामग्रीको उत्पादन मिति, उपभोग्य मिति, मूल्य, प्याकेजिङ, लेबल र गुणस्तरलगायतका विषयमा जाँच गरेको थियो। त्यस क्रममा म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त सामग्री सम्बन्धित व्यापारीको उपस्थितिमा बरामद गरी नष्ट गरिएको हो।
अनुगमनका क्रममा माउन्टेन डिउ ४ थान, स्लाइस ४ थान, डिउ सानो २८ थान, बिस्कुट ३ झोला, अजिना २० प्याकेट, चाइनिज रोल ७ प्याकेट, चिया १७ प्याकेट, पापड १९ थान, चकलेट १ प्याकेट र चिज बल २ थानलगायतका सामग्री बरामद गरिएको विवरणमा उल्लेख छ। बरामद वस्तुको कुल मूल्य ९ हजार १५२ रुपैयाँ रहेको जनाइएको छ। यसअघि बजार अनुगमनको दोस्रो दिन २६ हजार ५३० रुपैयाँ र पहिलो दिन २५ हजार ९८३ रुपैयाँ बराबरका म्याद गुज्रिएका तथा अखाद्य सामग्री बरामद गरी नष्ट गरिएको थियो।
घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीले म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राख्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले बजार अनुगमनलाई निरन्तरता दिइएको बताउनुभयो। दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र भएकाले यहाँ दैनिक ठूलो संख्यामा उपभोक्ताले खाद्य तथा अन्य उपभोग्य सामग्री खरिद गर्ने गरेका छन्। यसलाई ध्यानमा राख्दै अनुगमन टोलीले व्यापारीहरूलाई म्याद गुज्रिएका, लेबल स्पष्ट नभएका, गुणस्तरमा शंका लाग्ने तथा उपभोगका लागि अनुपयुक्त वस्तु बिक्री नगर्न आग्रह गरेको छ। साथै, सामान खरिद गर्दा तथा बिक्रीका लागि राख्दा उत्पादन तथा उपभोग्य मिति, मूल्य, लेबल र गुणस्तर अनिवार्य रूपमा जाँच गर्न समेत व्यापारीहरूलाई सचेत गराइएको छ। सम्बन्धित निकायले आगामी दिनमा पनि बजार तथा व्यवसायको नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ। लगातार तीन दिन गरिएको अनुगमनबाट दिक्तेल बजारमा उपभोग्य वस्तुको गुणस्तर र उपभोक्ता स्वास्थ्यप्रति निगरानी बढाइएको देखिएको छ।
—————————————————————————————————————————————–


