३१ भदौ, खोटाङको दिक्तेल बजारमा लगातार दोस्रो दिन पनि बजार अनुगमन गरिएको छ। बजारमा बिक्री वितरण भइरहेका अखाद्य तथा पेय पदार्थको गुणस्तर, म्याद र लेबलको अवस्थाबारे निगरानी गर्ने उद्देश्यले सम्बन्धित निकायको संयुक्त टोलीले बुधबार भदौ ३१ गते आज पनि बजार अनुगमन गरेको हो। जिल्ला प्रशासन कार्यालय खोटाङ,घरेलु तथा साना उद्योग कार्यालय खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहितका सम्बन्धित निकायको संयुक्त टोलीले दिक्तेल बजारका विभिन्न पसल तथा अखाद्य सामग्री बिक्री हुने स्थानमा पुगेर अनुगमन गरेको जनाएको छ।
हिजो भदौ ३० गतेदेखि सुरु गरिएको बजार अनुगमनलाई निरन्तरता दिँदै आज पनि बजारका विभिन्न पसलमा बिक्रीका लागि राखिएका खाद्य तथा पेय पदार्थको अवस्था जाँच गरिएको हो। अनुगमनका क्रममा सामग्रीको म्याद, लेबल, प्याकेजिङ तथा उपभोगका लागि उपयुक्त भए-नभएको विषयमा समेत निरीक्षण गरिएको जनाइएको छ। घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीका अनुसार बजारमा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने म्याद गुज्रिएका तथा उपभोगका लागि अनुपयुक्त अखाद्य सामग्री फेला परेपछि त्यस्ता सामग्री बरामद गरी नष्ट गरिएको बताउनुभएको छ।
चोकापन, पानीपुरी, मिरिन्डा, डिउ, विभिन्न प्रकारका बिस्कुट, फिङ्गर, पापड, चाइनिज रोल, चाउमिन मसला, चिजबल र भुजालगायतका अखाद्य तथा पेय पदार्थ बरामद गरिएको जनाइएको छ। बजारमा बिक्रीका लागि राखिएका सामग्रीको म्याद तथा उपभोगयोग्य अवस्था जाँच गर्दा केही सामग्री म्याद गुज्रिएको तथा उपभोगका लागि अनुपयुक्त अवस्थामा फेला परेका हुन्। बुधबार गरिएको अनुगमनका क्रममा बरामद तथा नष्ट गरिएका विभिन्न अखाद्य सामग्रीको कुल मूल्य २६ हजार ५ सय ३० रुपैयाँ बराबर रहेको विवरणमा उल्लेख छ। यसअघि मंगलबार भदौ ३० गते गरिएको बजार अनुगमनका क्रममा भने २५ हजार ९ सय ८३ रुपैयाँ बराबरका म्याद गुज्रिएका तथा अनुपयुक्त खाद्य सामग्री बरामद गरी नष्ट गरिएको जनाइएको थियो।
लगातार दुई दिन गरिएको बजार अनुगमनका क्रममा ठूलो मात्रामा म्याद गुज्रिएका अखाद्य सामग्री फेला परेपछि बजारमा खाद्य वस्तुको गुणस्तर र बिक्री वितरण प्रणालीप्रति थप निगरानी आवश्यक देखिएको सम्बन्धित निकायले जनाएको छ। सम्बन्धित निकायले उपभोक्तालाई समेत आफूले खरिद गर्ने खाद्य तथा पेय पदार्थको म्याद, लेबल, उत्पादन विवरण र प्याकेजिङको अवस्था हेरेर मात्र सामग्री खरिद तथा उपभोग गर्न आग्रह गरेको छ।
—————————————————————————————————————————————–


