३१ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२,सोल्माका ५१ वर्षीय व्यानबहादुर श्रेष्ठलाई सडक जीवनबाट उद्धार गरी आश्रममा पठाइएको छ। लामो समयदेखि असहाय अवस्थामा सडकमा जीवन बिताउँदै आउनुभएका श्रेष्ठलाई माया घर नेपाल, इटहरीको समन्वयमा भदौ ३१ गते आज उद्धार गरिएको हो। उद्धारपछि उहाँलाई झापाको बिर्तामोडस्थित आफ्नो घरआश्रममा पठाइएको माया घर नेपालका प्रतिनिधि प्रमेश ढकालले जानकारी दिनुभयो। सडकमा असहाय अवस्थामा रहनुभएका श्रेष्ठको अवस्थाबारे जानकारी पाएपछि उहाँलाई सुरक्षित र व्यवस्थित वातावरणमा राख्ने उद्देश्यले उद्धार गरिएको ढकालले बताउनुभयो। उहाँका अनुसार श्रेष्ठ लामो समयदेखि सडकमा असहाय अवस्थामा रहँदै आउनुभएको थियो। उद्धारपछि आश्रममा उहाँको खानपान, बसोबास, स्वास्थ्य तथा आवश्यक संरक्षणको व्यवस्था गरिने जनाइएको छ। सडकमा असहाय अवस्थामा रहेका व्यक्तिको उद्धार गरी सुरक्षित स्थानमा राख्नु मानवीय दायित्व भएकाले यस कार्यलाई निरन्तरता दिनुपर्ने माया घर नेपालले जनाएको छ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले नगर क्षेत्रमा सडकमा असहाय अवस्थामा रहेका व्यक्तिको पहिचान गरी उनीहरूको संरक्षण र व्यवस्थापनका लागि आवश्यक समन्वय तथा सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ। नगर प्रमुख भट्टराईले सडकमा जीवन बिताउन बाध्य नागरिकलाई सुरक्षित आवास, खानपान र आवश्यक संरक्षणको व्यवस्था गर्नु स्थानीय सरकारको सामाजिक जिम्मेवारीसमेत भएकाले सम्बन्धित संघसंस्था र निकायसँग सहकार्य गरेर यस्ता कार्यलाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभएको छ। श्रेष्ठलाई उद्धार गरी आश्रममा पठाइएसँगै लामो समयदेखि सडकमा असहाय अवस्थामा रहँदै आएका व्यक्तिको संरक्षणका लागि स्थानीय तह, सामाजिक संघसंस्था र समुदायबीचको सहकार्य आवश्यक रहेको देखिएको छ।
—————————————————————————————————————————————–


