२९भदौ खोटाङको ऐंसेलुखर्क गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले भोटेकोसीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि आर्थिक सहयोग गरेका छन्। गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएपछि उनीहरूको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयका विद्यार्थीहरूले रकम संकलन गरेका हुन्।
बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत ६ सय १७ जना विद्यार्थीबाट संकलन गरिएको २० हजार २ सय २० रुपैयाँ सोमबार आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक टेकबहादुर क्षेत्रीले जानकारी दिनुभयो। भोटेकोसीमा आएको बाढीबाट ठूलो क्षति भएपछि विपद्मा परेका नागरिकलाई सहयोग गर्न विद्यालय परिवारले पनि आफ्नो तर्फबाट योगदान गर्ने निर्णय गरेको थियो। सोहीअनुसार विद्यार्थीहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको प्रधानाध्यापक क्षेत्रीले बताउनुभयो। विद्यार्थीहरूले आफ्नो क्षमता र इच्छाअनुसार सहयोग रकम उपलब्ध गराएका थिए।
प्रधानाध्यापक क्षेत्रीका अनुसार विद्यार्थीहरूलाई विपद्मा परेका नागरिकको सहयोगका लागि रकम संकलन गर्ने विषयमा जानकारी गराएपछि उनीहरू स्वस्फूर्त रूपमा सहयोग गर्न तयार भएका थिए। “भोटेकोसीमा आएको बाढीले धेरै नागरिकलाई दुःख र समस्यामा पारेको छ। यस्तो अवस्थामा विद्यालयका विद्यार्थीहरूबाट पनि केही सहयोग गर्न सकिन्छ कि भन्ने सोच बनायौँ। विद्यार्थीहरू पनि सहयोग गर्न उत्साहित भए। त्यसपछि ६ सय १७ जना विद्यार्थीबाट रकम संकलन गर्दा २० हजार २ सय २० रुपैयाँ जम्मा भयो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छौँ,” प्रधानाध्यापक क्षेत्रीले भन्नुभयो। उहाँले विद्यार्थीहरूले आफ्नो क्षमता र इच्छाअनुसार रकम सहयोग गरेको बताउँदै रकमको हिसाबले सहयोग सानो भए पनि यसको सामाजिक तथा मानवीय महत्व ठूलो रहेको बताउनुभयो। विपद्का बेला विद्यार्थी उमेरदेखि नै अरूको दुःखमा सहयोग गर्ने भावना विकास हुनु सकारात्मक पक्ष भएको उहाँको भनाइ छ। प्राकृतिक विपद् जुनसुकै बेला र जुनसुकै स्थानमा आउन सक्ने भएकाले विपद्को समयमा सबै क्षेत्र र तहबाट सहयोग आवश्यक पर्ने प्रधानाध्यापक क्षेत्रीले बताउनुभयो। बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारका सम्बन्धित निकायसँगै विद्यालय, संघसंस्था, नागरिक समाज तथा आम नागरिकको पनि महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ।
भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। यही क्रममा त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले पनि आफ्नो क्षमताअनुसार रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विद्यार्थीहरूको यस्तो सहयोगले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउनुका साथै बालबालिकामा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गर्नसमेत योगदान पुग्ने विद्यालयको विश्वास छ। प्रधानाध्यापक क्षेत्रीले आगामी दिनमा पनि देश तथा स्थानीयस्तरमा आइपर्ने प्राकृतिक विपद् र मानवीय संकटका समयमा विद्यालय परिवारले आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
—————————————————————————————————————————————–


