२५ भदौ, । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय सहयोगको भावना व्यक्त गर्दै दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल खोटाङले ‘पीडासँगै हिँडेका पाइलाहरू’ नामक विशेष कार्यक्रम गरेको छ। विद्यालयले आज बिहीबार आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक, भावनात्मक तथा देशभक्तिमूलक प्रस्तुति प्रस्तुत गर्दै विपद्का कारण पीडामा परेका नागरिकप्रति सहानुभूति व्यक्त गरेका हुन् । कार्यक्रमलाई भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति मात्र सीमित नराखी देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकप्रति समेत ऐक्यबद्धता जनाउने अवसरका रूपमा लिइएको विद्यालयले जनाएको छ।
बाढी तथा प्राकृतिक विपद्का कारण घर, सम्पत्ति र आफन्त गुमाएर कठिन परिस्थितिको सामना गरिरहेका परिवारको पीडालाई स्मरण गर्दै विद्यालयले विद्यार्थीमार्फत मानवीय संवेदना, सहयोग र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बिध्यालयले बताएको छ। कार्यक्रममा विद्यार्थीहरूले नेपाली मौलिक कला, संस्कृति, परम्परा, राष्ट्रिय भावना तथा विपद्को पीडालाई समेटेर विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। कृष्णलीला नृत्य, कुमारी तथा भगवान् नृत्य, गोपिनी नृत्य र पीडाभाव नृत्यलगायतका प्रस्तुति कार्यक्रममा विशेष आकर्षणका रूपमा रहेका थिए ।
त्यस्तै नेपाली मौलिक संस्कृति र परम्परा झल्काउने धिमे, लाखे, ठाकठुके तथा रोपाइँ नृत्यसमेत विद्यार्थीहरूले प्रस्तुत गरेका थिए विद्यार्थीहरूले गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली समाजको विविधता, मौलिकता, परम्परा र राष्ट्रिय भावनासँगै विपद्का समयमा देखाउनुपर्ने मानवीय संवेदनालाई मञ्चमा प्रस्तुत गरेका थिए । विशेषगरी ‘पीडाभाव नृत्य’मार्फत भोटेकोशी बाढीबाट प्रभावित नागरिकले भोगिरहेको पीडा, दुःख, अभाव र कठिन अवस्थाप्रति भावनात्मक ऐक्यबद्धता जनाउने प्रयास गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल धनकर्ण श्रेष्ठले विपद् कुनै एक ठाउँ वा समुदायको मात्र समस्या नभएको बताउँदै देशको जुनसुकै भूभागमा विपद् पर्दा नेपालीले एकअर्काको दुःखमा साथ दिनुपर्ने धारणा राख्नुभयो। उहाँले ‘पीडासँगै हिँडेका पाइलाहरू’ कार्यक्रम भोटेकोशीमा मात्र केन्द्रित नभई देशका विभिन्न ठाउँमा विपद्का कारण पीडामा परेका नागरिकप्रति सहानुभूति र सहयोगको भावना जगाउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो। प्रिन्सिपल श्रेष्ठले भन्नुभयो, “एक शक्ति बनाउन नेपालीको मन अझै मरेको छैन भन्ने सन्देश दिन हामीले यो कार्यक्रम आयोजना गरेका हौँ। भोटेकोशीमा मात्र होइन, देशभर जहाँ–जहाँ विपद् आएको छ, त्यहाँ पीडामा परेका व्यक्तिहरूप्रति हामीले सहानुभूति व्यक्त गर्नुपर्छ। दुःखमा परेको मानिसलाई एक्लो महसुस हुन दिनु हुँदैन, आफ्नो ठाउँबाट सक्ने सहयोग गर्नुपर्छ भन्ने भावना विद्यार्थीमा विकास गराउन खोजेका छौँ।”
उहाँका अनुसार विद्यालयको उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकमा आधारित ज्ञान मात्र प्रदान गर्नु नभई उनीहरूलाई सामाजिक उत्तरदायित्व बोकेको जिम्मेवार नागरिकका रूपमा विकास गर्नु पनि हो। विपद्को समयमा पीडितको अवस्था बुझ्ने, सहयोगी भावना राख्ने, सामुदायिक उत्तरदायित्व निर्वाह गर्ने तथा मानवीय संवेदनालाई व्यवहारमा उतार्ने संस्कार विद्यार्थीमा विकास गराउन विद्यालयले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको उहाँले बताउनुभयो। कार्यक्रमकै क्रममा विपद् प्रभावितका लागि राहतस्वरूप सहभागी अतिथि तथा अभिभावकबाट मात्रै ६५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको बताइएको छ। त्यसअघि नै विद्यालयका शिक्षकहरूबाट रु ८० हजार रुपैयाँभन्दा बढी र विद्यार्थीहरूबाट समेत रु ६३ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भइसकेको विद्यालयले जनाएको छ। यसरी विद्यालय परिवारका शिक्षक, विद्यार्थी, अभिभावक तथा कार्यक्रममा सहभागी अतिथिहरूबाट समेत विपद् प्रभावितका लागि उल्लेख्य रकम संकलन भएको हो।
विद्यालयले ‘पीडासँगै हिँड्ने’ भन्ने अवधारणालाई सांस्कृतिक कार्यक्रमको विषय नबनाई व्यवहारमै उतार्ने प्रयास गरेको जनाएको छ। विद्यार्थीका सांस्कृतिक प्रतिभा र सिर्जनात्मक क्षमतालाई सामाजिक चेतनासँग जोड्दै आयोजना गरिएको कार्यक्रमले दुःखमा परेकालाई साथ दिने, पीडितको आवाज सुन्ने र सक्ने सहयोग गर्ने संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। यसरी दिक्तेल इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल खोटाङले सांस्कृतिक प्रस्तुतिसँगै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई जोड्दै आयोजना गरेको ‘पीडासँगै हिँडेका पाइलाहरू’ कार्यक्रमले भोटेकोशीसहित देशका विभिन्न स्थानमा विपद्का कारण पीडामा परेका नागरिकप्रति एकताको भावना प्रकट गरेको छ । कार्यक्रमले विपद्को समयमा ‘तपाईंको पीडा तपाईंको मात्र होइन, हामी सबैको साझा पीडा हो’ भन्ने मानवीय सन्देशसमेत प्रवाह गरेको छ।


