२५ भदौ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका लाभग्राहीको सहजताका लागि विशेष सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाभित्रका विभिन्न वडाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका तर हाल गाउँपालिका क्षेत्रभन्दा बाहिर अस्थायी रूपमा बसोबास गरिरहेका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले काठमाडौं, सुनसरी र उदयपुरमा शिविर सञ्चालन गर्न लागेको हो। गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने लाभग्राहीलाई आफूलाई पायक पर्ने स्थानमा सञ्चालन हुने शिविरमा उपस्थित भएर नवीकरण गराउन अनुरोध गरेको छ।
गाउँपालिकाको सूचनाअनुसार वडा कार्यालयसम्म पुगेर नवीकरण गर्न असहज हुने तथा रोजगारी, अध्ययन, पारिवारिक वा अन्य कारणले गाउँपालिका बाहिर अस्थायी रूपमा बसोबास गरिरहेका लाभग्राहीलाई शिविरबाटै सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ। गाउँपालिकाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार काठमाडौंको चाबहिल चोकमा असोज ३ गते शनिबार, सुनसरीको इटहरीमा असोज ५ गते सोमबार र उदयपुरको गाईघाटमा असोज ६ गते मंगलबार शिविर सञ्चालन हुनेछ। तीनवटै स्थानमा शिविर बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने जनाइएको छ। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि लाभग्राहीले आवश्यक कागजातसहित तोकिएको मिति, समय र स्थानमा उपस्थित हुनुपर्ने गाउँपालिकाले जनाएको छ। शिविरमा आउँदा नेपाली नागरिकताको प्रमाणपत्र तथा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि एक–एक प्रति, आवश्यकताअनुसार सम्बन्धित परिचय तथा प्रमाणका कागजात र पासपोर्ट साइजको फोटो एक प्रति ल्याउनुपर्ने सूचनामा उल्लेख छ।
त्यसैगरी, विधुवा महिला तथा ज्येष्ठ नागरिक एकल महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। अपाङ्गता भएका लाभग्राहीका हकमा अपाङ्गता परिचयपत्रको प्रतिलिपि समेत पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्नुपर्ने लाभग्राहीले नवीकरणको प्रक्रियालाई अनिवार्य रूपमा पूरा गर्नुपर्ने भएकाले तोकिएको शिविरमा उपस्थित हुन आग्रह गरेको छ। विशेषगरी गाउँपालिकाभन्दा बाहिर रहेका वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई लक्षित गरेर शिविर सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले गाउँपालिकाभन्दा बाहिर रहेका लाभग्राहीलाई नवीकरणकै लागि गाउँसम्म आउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले पायक पर्ने स्थानमा शिविर सञ्चालन गर्न लागिएको बताउनुभएको छ।
राईले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि गाउँ फर्किनुपर्ने बाध्यता अन्त्य गर्दै लाभग्राहीलाई सहज रूपमा सेवा दिने उद्देश्यले गाउँपालिकाबाहिर शिविर सञ्चालन गर्न लागिएको बताउनुभएको छ। उहाँले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई नवीकरणका क्रममा अनावश्यक दुःख नहोस् भन्ने उद्देश्यले पायक पर्ने स्थानमा सेवा विस्तार गरिएको बताउनुभयो। गाउँपालिकाबाट टाढा रहेका लाभग्राहीले समय र खर्च बचत हुने गरी आफूलाई अनुकूल पर्ने स्थानमा पुगेर सेवा लिन सक्ने अध्यक्ष राईको भनाइ छ।
—————————————————————————————————————————————-थप जानकारीको लागी एम.आइ.एस अपरेटर यमनलाल श्रेष्ठ ९८१६९०६०६९ र वडा अध्यक्ष भुपेन्द्र बस्नेत ९७४५२७८७८७


