Skip to main content

Khotang Khabar

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ – आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिसँग सम्बन्धित एउटा महत्वपूर्ण विषयमा विशेष जानकारी लिँदैछौँ।

बालबालिकाको स्वस्थ र सन्तुलित विकासका लागि उनीहरूको खानपान, सरसफाइ, नियमित स्वास्थ्य परीक्षण तथा उचित हेरचाहसँगै आयुर्वेदिक स्वास्थ्य पद्धतिमा उल्लेख गरिएका विभिन्न उपचार तथा स्वास्थ्य प्रवर्द्धनका विधिहरूको पनि आफ्नै महत्व रहेको पाइन्छ। यही सन्दर्भमा पछिल्लो समय बालबालिकाको स्वास्थ्यसँग जोडिएर चर्चा हुने गरेको ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रमका बारेमा धेरै अभिभावकहरूमा पनि चासो र जिज्ञासा बढिरहेको छ।

स्वर्णविन्दु प्राशन के हो ? यसमा के–कस्ता औषधीय सामग्रीको प्रयोग गरिन्छ ? बालबालिकालाई यसको सेवन गराउँदा के-कस्ता स्वास्थ्य लाभ प्राप्त हुन सक्छन् ? कुन उमेर समूहका बालबालिकालाई यो कार्यक्रम सञ्चालन गरिन्छ ? स्वर्णविन्दु प्राशन गराउँदा अभिभावकहरूले के–कस्ता कुरामा ध्यान दिनुपर्छ ? साथै, यसको वैज्ञानिक तथा आयुर्वेदिक आधार के हो भन्ने विषयमा पनि धेरै अभिभावकहरू जान्न चाहनुहुन्छ।

यिनै विषयमा रहेका जिज्ञासा र भ्रमलाई स्पष्ट पार्दै स्वर्णविन्दु प्राशन कार्यक्रमबारे सही र विश्वसनीय जानकारी आम नागरिक तथा अभिभावकसमक्ष पुर्‍याउने उद्देश्यले आज  हामीसँग हुनुहुन्छ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, खोटाङका कार्यालय प्रमुख डा. सरविन्द्र प्रसाद यादव।

प्रश्न डाक्टर साब, सर्वप्रथम यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। आज हामी बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण विषय स्वर्णविन्दु प्राशनका बारेमा कुराकानी गर्दैछौँ। सबैभन्दा पहिले स्वर्णविन्दु प्राशन भनेको के हो ?

डा. सरविन्द्र  प्रसाद यादव  – धन्यवाद। स्वर्णविन्दु प्राशन आयुर्वेदमा बालबालिकाको स्वास्थ्य प्रवर्द्धनका लागि प्रयोग हुँदै आएको एउटा महत्वपूर्ण परम्परागत प्रक्रिया हो। यसमा स्वर्ण अर्थात् सुनको भष्मलाई आयुर्वेदमा मेध्य अर्थात् स्मरणशक्ति तथा मानसिक विकासमा सहयोग गर्ने द्रव्यसँग मिश्रण गरी सेवन गराउने गरिन्छ। विशेषगरी पुष्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने आयुर्वेदिक परम्परा रहेको छ।

प्रश्न – खोटाङमा स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता किन महसुस गर्नुभयोर ?

डा. सरविन्द्र प्रसाद यादव  – बालबालिकाको स्वास्थ्य र सर्वाङ्गीण विकासलाई प्रारम्भिक उमेरदेखि नै प्राथमिकता दिनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासको महत्वपूर्ण समय प्रारम्भिक उमेर हो। त्यसैले आयुर्वेदिक स्वास्थ्य सेवामार्फत बालस्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।

प्रश्न यो कार्यक्रम कुन उमेर समूहका बालबालिकालाई लक्षित गरेर सञ्चालन गर्न लागिएको हो ?

डा. सरविन्द्र प्रसाद यादव – यस कार्यक्रमको मुख्य लक्षित समूह एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका हुन्। त्यसैले यस उमेर समूहमा पर्ने बालबालिकाका अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको समयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याएर कार्यक्रममा सहभागी गराउन हामी आग्रह गर्दछौँ।

प्रश्न स्वर्णविन्दु प्राशनबाट बालबालिकालाई के–कस्ता फाइदा पुग्ने अपेक्षा गरिएको छ ?

डा. सरविन्द्र प्रसाद यादव – आयुर्वेदिक मान्यताअनुसार स्वर्णविन्दु प्राशनले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने उद्देश्य राख्दछ। यसले स्मरणशक्ति तथा बौद्धिक क्षमताको विकासमा सहयोग गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटी अभिवृद्धिमा सहयोग पुग्ने मान्यता छ।

प्रश्न तपाईंले स्मरणशक्ति र बौद्धिक क्षमताको कुरा गर्नुभयो। स्वर्णविन्दु र बालबालिकाको मानसिक विकासबीचको सम्बन्धलाई कसरी बुझ्न सकिन्छ ? 

डा. सरविन्द्र प्रसाद यादव – आयुर्वेदमा केही द्रव्यलाई मेध्य द्रव्यका रूपमा वर्णन गरिएको छ, जसको प्रयोग मानसिक क्षमता तथा स्मरणशक्ति विकासमा सहयोग पुर्‍याउने उद्देश्यले गरिन्छ। स्वर्णविन्दुमा यस्ता द्रव्य प्रयोग गरिने भएकाले आयुर्वेदिक मान्यताअनुसार बालबालिकाको मानसिक तथा बौद्धिक विकासमा सहयोग पुग्ने विश्वास गरिन्छ।

प्रश्न  स्वर्णविन्दु प्राशनमा सुनको भष्मसँगै अन्य सामग्री पनि प्रयोग गरिन्छ भन्नुभयो। यसमा कस्ता सामग्री प्रयोग हुन्छन्रु

डा. सरविन्द्र प्रसाद यादव – स्वर्णविन्दुमा स्वर्ण अर्थात् सुनको भष्मसँग आयुर्वेदमा प्रयोग हुने विभिन्न मेध्य द्रव्यहरू मिश्रण गरिन्छ। उदाहरणका रूपमा ब्राह्मीघृतजस्ता द्रव्य प्रयोग गरिन्छ। यसको निर्माण, मात्रा र सेवनको प्रक्रिया भने सम्बन्धित स्वास्थ्यकर्मीको सल्लाह तथा निगरानीमा हुनुपर्छ।

प्रश्न पुष्य नक्षत्रका दिन नै स्वर्णविन्दु प्राशन गराउने चलन किन रहेको हो ?

डा. सरविन्द्र प्रसाद यादव – पुष्य नक्षत्रलाई आयुर्वेदिक परम्परामा विशेष महत्व दिइएको पाइन्छ। स्वर्णविन्दु प्राशन पनि पुष्य नक्षत्रका दिन गराउने परम्परा रहेको छ। आयुर्वेदिक मान्यता र परम्पराअनुसार यस दिनलाई विशेष मानिन्छ।

प्रश्न  रोग प्रतिरोधात्मक क्षमता अर्थात् इम्युनिटी पावर बढाउने विषयलाई अभिभावकले कसरी बुझ्नुपर्छ ?

डा. सरविन्द्र प्रसाद यादव – रोग प्रतिरोधात्मक क्षमता भनेको शरीरले विभिन्न रोग तथा संक्रमणसँग सामना गर्न सक्ने क्षमता हो। स्वर्णविन्दु प्राशनलाई आयुर्वेदिक दृष्टिकोणबाट बालबालिकाको प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने कार्यक्रमका रूपमा लिइन्छ। तर यससँगै बालबालिकालाई पौष्टिक खाना, पर्याप्त निद्रा, सरसफाइ, नियमित खोप तथा आवश्यक स्वास्थ्य परीक्षण पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

प्रश्न अभिभावकले बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउनुअघि के–कस्ता कुरामा ध्यान दिनुपर्छ ?

डा. सरविन्द्र प्रसाद यादव – सबैभन्दा पहिले बालबालिकाको उमेर र स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्छ। कुनै स्वास्थ्य समस्या छ, नियमित औषधि सेवन गरिरहेको छ वा अन्य विशेष अवस्था छ भने त्यसबारे पनि जानकारी दिनुपर्छ। स्वर्णविन्दु प्राशन स्वास्थ्यकर्मीको सल्लाह र निगरानीमा गराउनु उपयुक्त हुन्छ।

प्रश्न कुनै स्वास्थ्य समस्या भएका वा बिरामी बालबालिकाले पनि स्वर्णविन्दु प्राशन गर्न मिल्छ ?

डा. सरविन्द्र प्रसाद यादव – त्यसका लागि बालबालिकाको स्वास्थ्य अवस्था हेरेर निर्णय गर्नुपर्छ। त्यसैले अभिभावकले आफैँ निर्णय नगरी सम्बन्धित आयुर्वेदिक स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नुपर्छ। बालबालिकाको स्वास्थ्य अवस्थाअनुसार आवश्यक सल्लाह दिइन्छ।

प्रश्न स्वर्णविन्दु प्राशन एकपटक मात्र गरिने हो कि नियमित रूपमा पनि गराउनुपर्छ ?

डा. सरविन्द्र प्रसाद यादव – स्वर्णविन्दु प्राशन पुष्य नक्षत्रका दिन गराउने आयुर्वेदिक परम्परा हो। त्यसैले कार्यक्रम पनि पुष्य नक्षत्रका दिन सञ्चालन गर्ने व्यवस्था गरिएको छ। आगामी कार्यक्रमका मिति तथा नियमितताका विषयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट आवश्यक जानकारी प्रदान गरिनेछ।

प्रश्न अब कार्यक्रमको मिति, समय र स्थानका बारेमा हाम्रा श्रोतालाई स्पष्ट जानकारी दिनुहोस् न।

डा. सरविन्द्र प्रसाद यादव – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका अनुसार भदौ २३ गते मंगलबारदेखि स्वर्णविन्दु प्राशन कार्यक्रम औपचारिक रूपमा सञ्चालन हुँदैछ। कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। विशेषगरी एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई कार्यक्रममा सहभागी गराउने उद्देश्य राखिएको छ।

प्रश्न  कार्यक्रममा सहभागी हुन चाहने अभिभावकले के गर्नुपर्छ ?

डा. सरविन्द्रप्रसाद यादव – अभिभावकले आफ्ना बालबालिकालाई तोकिएको समयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याउनुपर्छ। केन्द्रमा आवश्यक विवरण तथा बालबालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्छ। त्यसपछि स्वास्थ्यकर्मीले आवश्यक प्रक्रिया तथा परामर्श प्रदान गर्नुहुनेछ।

प्रश्न बालबालिकाको स्वास्थ्य राम्रो बनाउन स्वर्णविन्दु प्राशन मात्र पर्याप्त हुन्छ त ?

डा. सरविन्द्र प्रसाद यादव – होइन, स्वर्णविन्दु मात्रले बालबालिकाको सम्पूर्ण स्वास्थ्य सुनिश्चित हुन्छ भन्ने बुझ्नु हुँदैन। बालबालिकालाई सन्तुलित तथा पौष्टिक खाना, पर्याप्त आराम र निद्रा, व्यक्तिगत सरसफाइ, नियमित खोप, शारीरिक गतिविधि तथा आवश्यक स्वास्थ्य परीक्षण आवश्यक हुन्छ। स्वर्णविन्दु कार्यक्रम बालस्वास्थ्य प्रवर्द्धनका विभिन्न उपायमध्ये एउटा आयुर्वेदिक प्रयास हो।

प्रश्न बालबालिकाको मानसिक विकासका लागि अभिभावकले घरमा कस्तो वातावरण बनाउनुपर्छ ?

डा. सरविन्द्र प्रसाद यादव – बालबालिकालाई पर्याप्त समय दिने, उनीहरूसँग कुराकानी गर्ने, खेल्न तथा सिक्न प्रोत्साहन गर्ने र प्रेमपूर्ण वातावरण प्रदान गर्ने कुरा निकै महत्वपूर्ण हुन्छ। उनीहरूलाई अनावश्यक डर, दबाब वा तनाव नदिई सकारात्मक वातावरणमा हुर्काउनुपर्छ। पौष्टिक आहारसँगै बालबालिकाको मानसिक तथा भावनात्मक पक्षमा पनि अभिभावकले ध्यान दिनुपर्छ।

प्रश्न अभिभावकमा स्वर्णविन्दु प्राशनका विषयमा विभिन्न जिज्ञासा वा भ्रम हुन सक्छ। उहाँहरूलाई के भन्न चाहनुहुन्छ ?

डा. सरविन्द्र प्रसाद यादव – स्वर्णविन्दु आयुर्वेदिक परम्परा र मान्यतामा आधारित बालस्वास्थ्य प्रवर्द्धन कार्यक्रम हो। यसलाई लिएर अनावश्यक डर वा भ्रम राख्नु आवश्यक छैन। तर कुनै पनि स्वास्थ्यसम्बन्धी सामग्री आफैँ किनेर वा मनलाग्दी सेवन गराउनु हुँदैन। सम्बन्धित स्वास्थ्यकर्मीको सल्लाह र निगरानीमा मात्र स्वर्णविन्दु प्राशन गराउनु उपयुक्त हुन्छ।

प्रश्न बालबालिकालाई कार्यक्रममा ल्याउँदा अभिभावकले उनीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ ? 

डा. सरविन्द्र प्रसाद यादव – बालबालिकालाई डर नदेखाई सहज वातावरणमा स्वास्थ्य केन्द्रमा ल्याउनुपर्छ। स्वास्थ्य केन्द्रमा आउनु सकारात्मक कुरा हो भन्ने अनुभूति गराउनुपर्छ। बालबालिका असहज वा डराएको अवस्थामा स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्छ।

प्रश्न यो कार्यक्रमबाट खोटाङका बालबालिका र अभिभावकले कस्तो लाभ लिन सक्ने अपेक्षा गरिएको छ ?

डा. सरविन्द्र प्रसाद यादव – यस कार्यक्रमबाट बालबालिकालाई आयुर्वेदिक स्वास्थ्य सेवासँग जोड्ने र अभिभावकलाई बालस्वास्थ्य तथा बालबालिकाको सर्वाङ्गीण विकासका विषयमा थप जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै प्रारम्भिक उमेरदेखि नै बालस्वास्थ्यलाई प्राथमिकता दिने वातावरण निर्माण गर्न पनि सहयोग पुग्ने विश्वास लिएका छौँ।

प्रश्न कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावकको सहभागिता कत्तिको महत्वपूर्ण छ ? 

डा. सरविन्द्र प्रसाद यादव – अभिभावकको सहभागिता अत्यन्त महत्वपूर्ण छ। हामीले कार्यक्रम सञ्चालन गरेर मात्र हुँदैन, लक्षित बालबालिकालाई स्वास्थ्य केन्द्रसम्म ल्याउने काममा अभिभावकको भूमिका हुन्छ। त्यसैले अभिभावकले कार्यक्रमबारे जानकारी लिएर आफ्ना बालबालिकालाई सहभागी गराउन सहयोग गर्नुपर्छ।

प्रश्न अन्त्यमा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका तर्फबाट जिल्लाका अभिभावक तथा हाम्रा श्रोतालाई के सन्देश दिन चाहनुहुन्छ ?

डा. सरविन्द्र  प्रसाद यादव – बालबालिका हाम्रो भविष्य हुन्। उनीहरूको स्वास्थ्य, शिक्षा, मानसिक अवस्था र सर्वाङ्गीण विकासमा हामी सबैले ध्यान दिनुपर्छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सञ्चालन गर्न लागेको स्वर्णविन्दु प्राशन कार्यक्रमबारे अभिभावकले सही जानकारी लिएर आफ्ना बालबालिकालाई सहभागी गराउनुहोस्। विशेषगरी एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकाका अभिभावकलाई भदौ २३ गते मंगलबार बिहान ७ बजेदेखि १० बजेसम्म जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आफ्ना बालबालिकालाई लिएर आउन हार्दिक आग्रह गर्दछु। कुनै जिज्ञासा भए स्वास्थ्यकर्मी तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग सम्पर्क गरी आवश्यक परामर्श लिनुहोस्। धन्यवाद।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

स्वर्णविन्दु प्राशन कार्यक्रमसम्बन्धी विशेष संवाद

१९ भदौ खोटाङ - आज हामी बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै उनीहरूको स्मरणशक्ति, एकाग्रता क्षमता तथा रोग प्रतिरोधात...
बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

बाढीपीडितको पुनःस्थापनाका लागि दिक्तेलले बाँसका संरचना बनाउने

१९ भदौ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प...
खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

खोटाङमा बालबालिकालाई लक्षित गर्दै स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन हुँदै

१८ भदौ, खोटाङ -:  बालबालिकाको स्वास्थ्य, शारीरिक तथा मानसिक विकाससँगै स्मरणशक्ति र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश...
रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

रसुवा बाढीपीडितका लागि श्रम संस्कृति पार्टीको राहत कोषमा ७ लाख ८ सय १८ रुपैयाँ संकलन

१८ भदौ,खोटाङ - रसुवामा आएको विनाशकारी बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत उपलब्ध गराउने उद्देश्यले श्रम संस्कृति पार्टील...