Skip to main content

Khotang Khabar

दशैँमा मासु मात्रै होइन, सागसब्जी र फलफूललाई पनि प्राथमिकता दिन चिकित्सकको सुझाव

Advertisement

 

२ कात्तिक खोटाङ । नेपालीहरूको महान् चाड बडादशैँमा अधिकांश घरपरिवारमा मासुका परिकार बढी खाने चलन छ। चाडपर्वका बेला छाकैपिच्छे मासु खाने तर सागसब्जी, फलफूल तथा अन्य रेसायुक्त खानेकुरा कम खाने बानील कब्जियतलगायतका पाचनसम्बन्धी समस्या बढ्न सक्ने भएकाले खानपानमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। दशैँमा परिवार, आफन्त र इष्टमित्रसँग बसेर विभिन्न परिकार खाने, मीठोमसिनो पकाउने तथा रमाइलो गर्ने परम्परा रहे पनि खानपानमा सन्तुलन नमिलाउँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। विशेषगरी अत्यधिक मासु, चिल्लो तथा बोसोयुक्त परिकार, मिठाई र मदिराको सेवन गर्ने तथा पेट भरिएपछि पनि जबर्जस्ती खाने बानीले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,खोटाङका कार्यालय प्रमुख डा.सरविन्द्र प्रसाद यादवले दशैँमा मासुका परिकारसँगै सागसब्जी, फलफूल र रेसायुक्त खानेकुरालाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । उनका अनुसार शरीरलाई प्रोटिन मात्र नभई फाइबर, भिटामिन, खनिज पदार्थ र पर्याप्त पानी पनि आवश्यक पर्ने भएकाले दैनिक भोजन सन्तुलित बनाउन जरुरी छ । मासु प्रोटिनको महत्त्वपूर्ण स्रोत भए पनि यसको अत्यधिक सेवन र सागसब्जी तथा फलफूलको न्यून सेवनले पाचन प्रक्रियामा समस्या निम्त्याउन सक्छ । विशेषगरी रेसायुक्त खानेकुराको कमी हुँदा दिसा कडा हुने, दिसा गर्न कठिनाइ हुने तथा कब्जियतको समस्या देखिन सक्ने भएकाले खानपानमा विविधता अपनाउनुपर्ने हुन्छ ।

दशैँमा खानपानमा सावधानी अपनाउनु भनेको मासु खानै नहुने भन्ने होइन। बरु मासुको मात्रा मिलाउने, सागसब्जी र फलफूल पर्याप्त खाने, खाना कोचेर नखाने तथा शरीरलाई आवश्यक पानी पिउने बानी अपनाउनु महत्त्वपूर्ण हुन्छ। चाडपर्वको रमाइलोसँगै आफ्नो स्वास्थ्यलाई पनि प्राथमिकता दिन सके दशैँलाई स्वस्थ र उल्लासमय बनाउन सकिन्छ। स्वादिलो भोजन र पारिवारिक जमघटसँगै स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिन सके चाडपर्वमा देखिन सक्ने पाचनसम्बन्धी समस्या न्यूनीकरण गर्न सहयोग पुग्नेछ । त्यसैले दशैँमा मासुका परिकारसँगै स्थानीय सागसब्जी, फलफूल र अन्य पोषिलो खानेकुरालाई पनि भोजनको अभिन्न हिस्सा बनाउन आवश्यक छ।

                     

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *