३१ असोज खोटाङ । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज नवरात्रको सातौँ दिन देशभर श्रद्धा, भक्तिभाव र धार्मिक विधिपूर्वक फूलपाती भित्र्याउने तथा नौ दुर्गामध्येकी सातौँ देवी कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ। आश्विन शुक्ल सप्तमीका दिन मनाइने यस पर्वमा दसैँ घर तथा पूजा कोठामा कालरात्रि देवीको विधिपूर्वक पूजा गरी सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गरिन्छ।
दसैँको सातौँ दिनलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्त्वका साथ लिने गरिन्छ। आजका दिन घरघरमा जमरा राखिएको स्थानमा दुर्गा भवानीको पूजा आराधना गर्नुका साथै विभिन्न धार्मिक विधि पूरा गरी फूलपाती भित्र्याउने चलन छ। फूलपाती भित्र्याउने परम्पराले दसैँको उल्लासलाई थप बढाउने र घरपरिवारमा धार्मिक वातावरण सिर्जना गर्ने विश्वास गरिन्छ। नवरात्रको सातौँ दिन पूजा गरिने कालरात्रि देवीलाई दुर्गा भवानीको उग्र तथा शक्तिशाली स्वरूपका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार कालरात्रि देवीले दुष्ट शक्तिको नाश गरी भक्तजनलाई भय, सङ्कट र नकारात्मक शक्तिबाट रक्षा गर्छिन्। प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत भगवतीले नष्ट गर्न सक्ने मान्यता रहेकाले देवीको यस स्वरूपलाई कालरात्रि भनिएको धार्मिक ग्रन्थहरूमा उल्लेख पाइन्छ।
कालरात्रि देवीको वर्ण कालो र स्वरूप भयङ्कर रहेको वर्णन विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा गरिएको छ। बाहिरी स्वरूप उग्र देखिए पनि देवीले आफ्ना भक्तजनलाई अभय प्रदान गर्ने, दुःख र सङ्कटबाट मुक्त गराउने तथा धर्मको रक्षा गर्ने विश्वास गरिन्छ। त्यसैले आजका दिन श्रद्धालु भक्तजनले विशेष निष्ठाका साथ देवीको पूजा आराधना गरी आफ्नो परिवार तथा समाजको सुख, शान्ति र समृद्धिको कामना गर्ने गर्छन्। नवरात्रको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदाका दिन दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। घटस्थापनासँगै सुरु भएको नवरात्रमा प्रत्येक दिन नौ दुर्गाका फरक–फरक स्वरूपको पूजा आराधना गर्ने परम्परा रहिआएको छ। पहिलो दिन शैलपुत्री देवीको पूजा गरी सुरु गरिएको नवरात्रमा क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना सम्पन्न गरिएको छ। आज सातौँ दिन कालरात्रि देवीको पूजा गरिँदै छ।




