२० भदौ,खोटाङ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औँ राष्ट्रिय दिवस खोटाङमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ। ‘प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी दिवस मनाइएको हो। कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यमको प्रयोगमार्फत समेत हुने क्रम बढ्दै गएको भन्दै यसको नियन्त्रणका लागि समुदायस्तरबाटै सचेतना र निगरानी आवश्यक रहेकोमा जोड दिइएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्तिहरूले पनि आफ्नो गतिविधिको स्वरूप परिवर्तन गरिरहेको बताउनुभयो। सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग सम्पर्क बढाउने, आकर्षक रोजगारीको प्रलोभन देखाउने तथा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी तथा बेचबिखनमा पार्ने जोखिम बढेकाले विशेषगरी बालबालिका, किशोरी तथा युवायुवतीलाई सचेत बनाउन आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले शंकास्पद गतिविधि तथा व्यक्तिबारे जानकारी पाएमा तत्काल प्रहरी वा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गर्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी एक्लैको प्रयास पर्याप्त नहुने र समुदायको सहयोग तथा सहकार्य आवश्यक रहेको बताउनुभयो।
त्यस्तै, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले मानव बेचबिखन तथा ओसारपसारलाई एउटा व्यक्तिको मात्र नभई परिवार, समुदाय र समग्र समाजसँग जोडिएको गम्भीर अपराधका रूपमा लिनुपर्ने बताउनुभयो। गरिबी, बेरोजगारी, अशिक्षा, आर्थिक अभाव र अवसरको कमीका कारण मानिसहरू विभिन्न प्रलोभनमा पर्न सक्ने भएकाले यसको न्यूनीकरणका लागि शिक्षा, रोजगारी, आर्थिक सशक्तीकरण र जनचेतनालाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो। मानव बेचबिखन रोकथामका लागि स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था, सञ्चारमाध्यम, नागरिक समाज र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत प्रमुख राईले जोड दिनुभयो।
यस्तै, प्रमुख जिल्ला अधिकारी रेखा कडेलले मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि सम्भावित जोखिममा रहेका व्यक्ति तथा समुदायको समयमै पहिचान गरी सचेतना फैलाउनुपर्ने बताउनुभयो। विशेषगरी सामाजिक सञ्जालमार्फत आउने आकर्षक रोजगारीका प्रस्ताव, विदेश पठाइदिने आश्वासन, प्रेम तथा विवाहको बहानालगायतका प्रलोभनप्रति सजग रहनुपर्ने उहाँको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी कडेलले मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्तिको उद्धार, संरक्षण, पुनःस्थापना तथा पुनःएकीकरणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। पीडितलाई सामाजिक रूपमा अपहेलना गर्नुको सट्टा आवश्यक कानुनी, मनोसामाजिक तथा आर्थिक सहयोग उपलब्ध गराई सम्मानपूर्वक पुनःस्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। दिवसका अवसरमा मानव बेचबिखन तथा ओसारपसारको अवस्था, यसका कारण, असर तथा रोकथामका उपायका विषयमा छलफल तथा सचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग हुने सम्पर्क, आकर्षक रोजगारीको प्रस्ताव, विदेश पठाइदिने आश्वासन तथा अन्य प्रलोभनपूर्ण सन्देशलाई तत्काल विश्वास नगर्न आग्रह गरेका छन्। कुनै पनि निर्णय गर्नुअघि सम्बन्धित निकायबाट आवश्यक जानकारी लिन तथा व्यक्तिगत विवरण र संवेदनशील सूचना अपरिचित व्यक्तिलाई उपलब्ध नगराउनसमेत सचेत गराइएको छ।
खोटाङमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउँदै सम्भावित जोखिममा रहेका व्यक्ति तथा समुदायलाई समयमै सचेत गराउने, पीडितको उद्धार तथा संरक्षणमा सहकार्य गर्ने र अपराधमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।


