Skip to main content

Khotang Khabar

खोटाङमा दुई महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८८ सवारी कारबाही, साढे ९ लाख राजश्व संकलन

११ असोज, खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरी ९ लाख ६० हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको विवरणअनुसार चालु आर्थिक वर्षको श्रावण र भदौ महिनामा गरी कुल ८ सय ८८ वटा सवारीसाधनमाथि कारबाही गर्दा सो रकम उठेको हो। कार्यालयका अनुसार श्रावण महिनामा ३ सय ५९ वटा सवारीसाधनमाथि कारबाही गरिएको थियो। उक्त महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीबाट ३ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन भएको छ । कारबाहीमा बस, ट्र्याक्टर, जिप, मोटरसाइकललगायत अन्य सवारीसाधन परेका छन् ।

त्यसैगरी, भदौ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ सय २९ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ । भदौ महिनामा गरिएको कारबाहीबाट ५ लाख ७३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जनाएको छ। श्रावणको तुलनामा भदौ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि गरिएको कारबाहीको संख्या १ सय ७० ले बढी देखिएको छ। यस्तै, राजश्व संकलनसमेत भदौ महिनामा श्रावणको तुलनामा १ लाख ८६ हजार ५ सय रुपैयाँले बढी भएको छ ।

यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको तथ्याङ्कअनुसार जिल्लामा सवारी दुर्घटनासमेत भएको पाइएको छ। श्रावण महिनामा जिल्लामा एउटा सवारी दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मानवीय मृत्यु नभए पनि दुई जना घाइते भएका थिए । यस्तै, भदौ महिनामा पनि एउटा सवारी दुर्घटना भएको कार्यालयको विवरणमा उल्लेख छ । भदौ महिनामा भएको उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको तथा १९ जना घाइते भएका छन्।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न नियमित रूपमा सवारी जाँच तथा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर्दै आएको छ । सवारी चालकले तीव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, सवारी चलाउँदा आवश्यक कागजात साथमा राख्ने तथा ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा ट्राफिक प्रहरीले जोड दिँदै आएको छ। जिल्लामा पछिल्लो समय सवारीसाधनको चाप बढ्दै गएको अवस्थामा चालक तथा यात्रु स्वयंले सडक सुरक्षा र ट्राफिक नियमको पालना गर्न सकेमा सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले बताएको छ।

—————————————————————————————————————————————–

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *