११ असोज खोटाङ। जन्तेढुङ्गा गाउँपालिका खोटाङ जिल्लाको दश स्थानीय तहमध्ये एकमहत्वपूर्ण स्थानीय तह हो। स्थानीय सरकार गठन भएपछि नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार ल्याउने, सडक तथा भौतिक पूर्वाधार निर्माण गर्ने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने तथा गाउँपालिकाबाट प्रदान हुने सेवा–सुविधालाई नागरिकमैत्री बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको छ। यही सन्दर्भमा जन्तेढुङ्गा गाउँपालिकाले हालसम्म गरेका काम, प्राप्त उपलब्धि, देखिएका चुनौती तथा आगामी योजनाका विषयमा गाउँपालिका अध्यक्ष अरुणादेवी राईसँग गरिएको कुराकानी।
प्रश्न १. सबैभन्दा पहिले जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेपछि अहिलेसम्मको आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? मुख्य रूपमा के–के काम गर्नुभएको छ?
अध्यक्ष अरुणादेवी राइ। जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी पाउनु मेरो लागि अवसरसँगै ठूलो जिम्मेवारी पनि हो। स्थानीय नागरिकको अपेक्षा, आवश्यकता र समस्यालाई नजिकबाट बुझेर काम गर्नुपर्ने भएकाले सुरुदेखि नै हामीले जनताको आधारभूत आवश्यकता र गाउँपालिकाको दीर्घकालीन विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ। हामीले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सामाजिक विकास, महिला तथा बालबालिका, रोजगारी, पर्यटनलगायतका क्षेत्रमा काम अघि बढाएका छौँ। विकास निर्माणका कामसँगै नागरिकलाई गाउँपालिकाबाट उपलब्ध हुने सेवा सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने प्रयास पनि गरेका छौँ। सीमित स्रोतसाधन र ठूलो आवश्यकता रहेको अवस्थामा सबै समस्या एकैपटक समाधान गर्न सम्भव हुँदैन। त्यसैले प्राथमिकताका आधारमा योजना छनोट गरेर क्रमशः काम गर्दै आएका छौँ। हामीले सुरु गरेका योजनालाई पूरा गर्ने, नागरिकको आवश्यकता बुझ्ने र गाउँपालिकाको समग्र विकासलाई संस्थागत बनाउने दिशामा काम भइरहेको छ।
प्रश्न २. तपाईंको कार्यकालमा जन्तेढुङ्गा गाउँपालिकाको विकासमा नागरिकले प्रत्यक्ष अनुभव गर्न सक्ने प्रमुख परिवर्तन के–के भएका छन?
अध्यक्ष अरुणादेवी राइ। स्थानीय तहको सरकारको काम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको हुन्छ। त्यसैले विकास भनेको ठूला भवन वा सडक निर्माण गर्नु मात्र होइन, नागरिकले सेवा लिन कति सहज भयो, विद्यालयको अवस्था कस्तो भयो, स्वास्थ्य सेवा कति नजिक पुग्यो, खानेपानीको समस्या कति समाधान भयो र कृषकको उत्पादनले बजार पायो कि पाएन भन्ने विषय पनि विकासका महत्वपूर्ण सूचक हुन्। हामीले यही दृष्टिकोणबाट काम गरेका छौँ। पूर्वाधार विकासका साथै सामाजिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौँ। शिक्षा र स्वास्थ्यमा लगानी बढाउने, विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधार गर्ने, स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउने, कृषि तथा पशुपालनमा सहयोग गर्ने र नागरिकलाई स्थानीय सरकारको सेवा घरदैलोमै उपलब्ध गराउने प्रयास गरेका छौँ। अहिले पनि धेरै काम गर्न बाँकी छ। तर विगतको अवस्थासँग तुलना गर्दा विभिन्न क्षेत्रमा क्रमिक सुधार हुँदै गएको हाम्रो बुझाइ छ।
प्रश्न ३. अब शिक्षाको कुरा गरौँ। जन्तेढुङ्गा गाउँपालिकाको अहिलेको शैक्षिक अवस्था कस्तो छ?
अध्यक्ष अरुणादेवी राइ । शिक्षा हाम्रो प्राथमिकताको महत्वपूर्ण क्षेत्र हो। गाउँपालिकाभित्र रहेका विद्यालयमा विद्यार्थीको पहुँच, शिक्षकको उपलब्धता, विद्यालयको भौतिक अवस्था, सिकाइ उपलब्धि र शैक्षिक गुणस्तरलाई हामीले ध्यान दिँदै आएका छौँ। ग्रामीण क्षेत्रमा विद्यालय सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण विषय हो। कतिपय ठाउँमा विद्यार्थी संख्या कम हुनु, कतिपय विद्यालयमा विषयगत शिक्षकको आवश्यकता हुनु, प्रविधिमैत्री शिक्षाको पहुँच विस्तार गर्नुपर्ने अवस्था हुनुजस्ता चुनौती छन्। हामीले विद्यालयको भौतिक संरचना सुधार गर्नुका साथै शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेका छौँ। विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक र स्थानीय सरकारबीच समन्वय बढाएर विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्नुपर्नेमा हाम्रो जोड छ।
प्रश्न ४. गाउँपालिकामा विद्यालयहरू छन्, शिक्षकहरू छन्, तर विद्यार्थीको सिकाइ उपलब्धि अपेक्षाअनुसार नआएको गुनासो पनि सुनिन्छ। यसको मुख्य कारण के हो र सुधारका लागि के गर्दै हुनुहुन्छ?
अध्यक्ष अरुणादेवी राइ। सिकाइ उपलब्धि एउटा मात्र कारणले प्रभावित हुँदैन। शिक्षकको उपलब्धता र क्षमता, विद्यार्थीको नियमित उपस्थिति, अभिभावकको चासो, विद्यालयको वातावरण, शिक्षण विधि, पाठ्यसामग्री र प्रविधिको प्रयोगलगायत धेरै पक्ष यससँग जोडिएका हुन्छन्। त्यसैले हामीले विद्यालय भवन बनाउने वा शिक्षक व्यवस्थापन गर्ने कुरालाई मात्र शिक्षा सुधारको आधार मानेका छैनौँ। विद्यालयको नियमित अनुगमन, शिक्षक तथा प्रधानाध्यापकसँग छलफल, विद्यार्थीको उपस्थितिमा सुधार, अभिभावकको सहभागिता र आवश्यक शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयमा ध्यान दिइरहेका छौँ। आगामी दिनमा शिक्षा क्षेत्रको गुणस्तरलाई अझ परिणाममुखी बनाउनुपर्ने आवश्यकता छ।
प्रश्न ५. ग्रामीण क्षेत्रका विद्यार्थीहरू अध्ययनका लागि शहरतिर जाने क्रम बढिरहेको छ। जन्तेढुङ्गामा गुणस्तरीय शिक्षा उपलब्ध गराएर विद्यार्थीलाई गाउँमै टिकाउने विषयमा गाउँपालिकाको योजना के छ?
अध्यक्ष अरुणादेवी राइ। यो गम्भीर विषय हो। ग्रामीण क्षेत्रका विद्यालयमा गुणस्तरीय शिक्षा उपलब्ध भयो भने विद्यार्थीलाई अनावश्यक रूपमा बाहिर जानुपर्ने अवस्था कम गर्न सकिन्छ। यसका लागि विद्यालयको शैक्षिक वातावरण सुधार गर्नुपर्छ। विषयगत शिक्षकको व्यवस्थापन, प्रविधिको प्रयोग, अंग्रेजी तथा नेपाली दुवै माध्यमको प्रभावकारी शिक्षण, अतिरिक्त क्रियाकलाप, प्राविधिक तथा व्यावहारिक शिक्षातर्फको जोड आवश्यक छ। हामीले गाउँमै गुणस्तरीय शिक्षा दिने वातावरण निर्माण गर्ने दिशामा काम गरिरहेका छौँ। यसमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थी सबैको भूमिका महत्वपूर्ण हुन्छ।
प्रश्न ६. अब स्वास्थ्य क्षेत्रतर्फ जाऔँ। अहिले जन्तेढुङ्गा गाउँपालिकाका नागरिकले आधारभूत स्वास्थ्य सेवा कत्तिको सहज रूपमा पाइरहेका छन्?
अध्यक्ष अरुणादेवी राइ। स्वास्थ्य नागरिकको मौलिक आवश्यकता हो। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउनु स्थानीय सरकारको प्रमुख जिम्मेवारीमध्ये एक हो। गाउँपालिकाका स्वास्थ्य संस्थाबाट नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने काम भइरहेको छ। विशेषगरी नियमित स्वास्थ्य जाँच, औषधि वितरण, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतका नागरिकलाई आवश्यक स्वास्थ्य सेवामा ध्यान दिइएको छ। तर भौगोलिक अवस्था, स्वास्थ्यकर्मीको उपलब्धता, औषधि तथा उपकरणको व्यवस्थापनलगायतका विषयमा चुनौतीहरू छन्। त्यसलाई क्रमशः सुधार गर्दै स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पु¥याउने हाम्रो प्रयास जारी छ।
प्रश्न ७. ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्था भए पनि विशेषज्ञ चिकित्सक, उपकरण र आवश्यक स्वास्थ्य सामग्रीको अभाव देखिन्छ। जन्तेढुङ्गामा यसको अवस्था कस्तो छ?
अध्यक्ष अरुणादेवी राइ। ग्रामीण स्थानीय तहमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनु चुनौतीपूर्ण विषय हो। सबै प्रकारका विशेषज्ञ चिकित्सक र अत्याधुनिक उपकरण गाउँमै तत्काल उपलब्ध गराउन स्रोतसाधनको सीमितताका कारण कठिनाइ हुन्छ। तर आधारभूत स्वास्थ्य सेवा बलियो बनाउनु हाम्रो पहिलो प्राथमिकता हो। स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थापन गर्ने र आवश्यक अवस्थामा नागरिकलाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था मिलाउँदै आएका छौँ। भविष्यमा सम्भव भएसम्म विशेषज्ञ सेवा र आवश्यक उपकरण थप गर्दै जाने योजना छ। प्रदेश र संघीय सरकारसँग पनि आवश्यक सहयोग तथा समन्वय गरिरहेका छौँ।
प्रश्न ८. गर्भवती महिला, सुत्केरी आमा र बालबालिकाको स्वास्थ्यका लागि गाउँपालिकाले के–कस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ?
अध्यक्ष अरुणादेवी राइ। मातृ तथा बाल स्वास्थ्यलाई हामीले अत्यन्तै संवेदनशील विषयका रूपमा लिएका छौँ। गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य संस्थामै सुत्केरी हुने वातावरण निर्माण गर्ने र बालबालिकाको नियमित स्वास्थ्य परीक्षण तथा खोप सेवामा पहुँच बढाउने विषयमा ध्यान दिइएको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थासम्म पुग्न भौगोलिक कठिनाइ हुने भएकाले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका पनि महत्वपूर्ण हुन्छ। समुदायस्तरमै स्वास्थ्यसम्बन्धी चेतना फैलाउने र जोखिममा रहेका गर्भवती तथा बालबालिकालाई समयमै स्वास्थ्य सेवामा ल्याउने प्रयास गरिरहेका छौँ।
प्रश्न ९. स्वास्थ्य सेवा सुधारका लागि आगामी दिनमा तपाईंको विशेष प्राथमिकता के हुनेछ?
अध्यक्ष अरुणादेवी राइ। आगामी दिनमा स्वास्थ्य संस्थाको सेवा क्षमता बढाउने, आवश्यक जनशक्ति र औषधिको उपलब्धता सुनिश्चित गर्ने, स्वास्थ्य उपकरणको व्यवस्थापन गर्ने तथा नागरिकलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा हाम्रो प्राथमिकता रहनेछ। त्यससँगै नसर्ने रोग, सरसफाइ, पोषण, मातृ तथा बाल स्वास्थ्य, ज्येष्ठ नागरिकको स्वास्थ्य र स्वास्थ्यसम्बन्धी जनचेतनालाई पनि जोड दिनुपर्ने आवश्यकता छ।
प्रश्न १०. जन्तेढुङ्गा गाउँपालिकाको सडक अवस्था अहिले कस्तो छ? वर्षायाममा सडक बिग्रिने र यातायात प्रभावित हुने समस्या समाधानका लागि के गर्दै हुनुहुन्छ?
अध्यक्ष अरुणादेवी राइ। हाम्रो भौगोलिक अवस्थाका कारण सडक निर्माण र सञ्चालन आफैँमा चुनौतीपूर्ण छ। वर्षायाममा पहिरो, खोलानाला तथा सडक कटानका कारण यातायातमा समस्या आउने गरेको छ। हामीले आवश्यक स्थानमा सडक मर्मत, स्तरोन्नति तथा नियमित सञ्चालनका लागि काम गर्दै आएका छौँ। सडकलाई दिगो बनाउन नाली, कल्भर्ट, संरक्षण तथा आवश्यक संरचनासहित निर्माण गर्नुपर्ने आवश्यकता छ।
प्रश्न ११. जन्तेढुङ्गाका अधिकांश नागरिकको जीवन कृषि र पशुपालनसँग जोडिएको छ। कृषकको आय बढाउन गाउँपालिकाले के गरिरहेको छ?
अध्यक्ष अरुणादेवी राइ। कृषि हाम्रो स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार हो। परम्परागत कृषि प्रणालीबाट मात्र कृषकको आय बढाउन कठिन हुन्छ। त्यसैले उत्पादन, प्रविधि, बजार र बजारीकरणलाई जोडेर कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ। कृषकलाई आवश्यक सीप, प्रविधि, बीउबिजन तथा उत्पादनमा सहयोग गर्ने र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास भइरहेको छ। कृषि तथा पशुपालनलाई निर्वाहमुखी मात्र नभई व्यावसायिक बनाउने हाम्रो उद्देश्य हो। स्थानीय उत्पादन बढ्यो भने रोजगारी सिर्जना हुन्छ, आय बढ्छ र युवाहरूलाई गाउँमै बस्ने वातावरण पनि निर्माण गर्न सकिन्छ।
प्रश्न १२. गाउँपालिकाबाट युवा रोजगारी र वैदेशिक रोजगारीमा जाने क्रम रोक्न के पहल भइरहेको छ?
अध्यक्ष अरुणादेवी राइ। युवालाई गाउँमै रोजगारी दिने कुरा सजिलो छैन। यसको लागि सीप, लगानी, बजार र उद्यमशीलताको वातावरण आवश्यक हुन्छ। हामीले युवालाई कृषि, पशुपालन, साना उद्योग, व्यवसाय तथा विभिन्न सीपमूलक क्षेत्रमा जोड्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेका छौँ। स्थानीय स्रोत र सम्भावनामा आधारित उद्यम विकास गर्न सकियो भने गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ। वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनु पनि महत्वपूर्ण हुन्छ।
प्रश्न १३. महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पछाडि परेका समुदायका लागि गाउँपालिकाले कस्तो काम गरिरहेको छ?
अध्यक्ष अरुणादेवीराइ । स्थानीय सरकार सबै नागरिकको सरकार हो। त्यसैले विकासको लाभ सबै समुदायमा समान रूपमा पुग्नुपर्छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक रूपमा पछाडि परेका समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गर्ने प्रयास भइरहेको छ। महिला सहभागिता बढाउने, सीप तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने र सामाजिक सुरक्षा तथा अधिकारसम्बन्धी चेतना बढाउने विषयमा ध्यान दिइएको छ। हामीले समावेशी र समान अवसरमा आधारित विकासलाई प्राथमिकतामा राखेका छौँ।
प्रश्न १४. नागरिकले स्थानीय सरकारसँग सेवा लिन आउँदा छिटो, सरल र पारदर्शी सेवा पाउनुपर्छ भन्ने अपेक्षा राख्छन्। गाउँपालिकाको सेवा प्रवाहलाई कत्तिको प्रभावकारी बनाउनुभएको छ?
अध्यक्ष अरुणादेवी राइ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। त्यसैले नागरिकले सेवा लिनका लागि अनावश्यक दुःख पाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो। सेवा प्रवाहलाई सरल, पारदर्शी र नागरिकमैत्री बनाउने प्रयास भइरहेको छ। कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीबीच समन्वय बढाएर सेवा प्रभावकारी बनाउनुपर्ने हुन्छ। हामीले नागरिकका गुनासा र सुझावलाई पनि महत्व दिएका छौँ। स्थानीय सरकारको कमजोरी देखिएमा सुधार गर्न तयार हुनुपर्छ भन्ने हाम्रो सोच हो।
प्रश्न १५. यति धेरै काम गर्दा तपाईंले सबैभन्दा ठूलो चुनौती के–के भोग्नुपरेको छ?
अध्यक्ष अरुणादेवी राइ । स्थानीय सरकारसँग जिम्मेवारी धेरै छन् तर स्रोतसाधन सीमित छन्। भौगोलिक कठिनाइ, बजेटको सीमा, जनशक्ति व्यवस्थापन, विकास निर्माणमा हुने ढिलाइ तथा नागरिकका बढ्दो अपेक्षा प्रमुख चुनौती हुन्। अर्कोतर्फ एउटा योजना पूरा गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक पर्ने अवस्था पनि हुन्छ। त्यसैले उपलब्ध स्रोतलाई सही ठाउँमा प्रयोग गर्ने र प्राथमिकताका आधारमा योजना सञ्चालन गर्ने प्रयास गरिरहेका छौँ।
प्रश्न १६. अब तपाईंको कार्यकालमा बाँकी रहेको समय र आगामी वर्षहरूका लागि जन्तेढुङ्गा गाउँपालिकाको मुख्य प्राथमिकता के–के हुन्?
अध्यक्ष अरुणादेवी राइ। आगामी दिनमा अधुरा विकास आयोजना पूरा गर्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार गर्ने, सडक तथा खानेपानीजस्ता आधारभूत पूर्वाधारलाई व्यवस्थित गर्ने, कृषि तथा पशुपालनलाई व्यवसायीकरण गर्ने र युवालाई सीप तथा रोजगारीसँग जोड्ने विषय प्राथमिकतामा रहनेछन्। त्यसैगरी पर्यटन तथा स्थानीय सम्भावनाको पहिचान गरी आर्थिक गतिविधि बढाउने, महिला तथा पछाडि परेका समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरण गर्ने र स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने हाम्रो लक्ष्य छ।
प्रश्न १७. अन्त्यमा, जन्तेढुङ्गा गाउँपालिकाका नागरिकलाई तपाईं के भन्न चाहनुहुन्छ?
अध्यक्ष अरुणादेवी राइ। जन्तेढुङ्गाको विकास जनप्रतिनिधि वा कर्मचारीको मात्र जिम्मेवारी होइन। यो हामी सबैको साझा जिम्मेवारी हो। गाउँपालिकाले नागरिकको अपेक्षा र आवश्यकता बुझेर काम गरिरहेको छ। हामीले गरेका काममा कमजोरी भए सुझाव दिनुहोस्, समस्या भए जानकारी गराउनुहोस् र राम्रा काममा साथ दिनुहोस्। स्थानीय सरकार नागरिककै लागि हो। सीमित स्रोतसाधनका बीच पनि हामीले जनताको आवश्यकता र गाउँपालिकाको समग्र विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ। आगामी दिनमा पनि जनताको साथ, सुझाव र सहकार्यका साथ जन्तेढुङ्गालाई अझ व्यवस्थित, समृद्ध र आत्मनिर्भर बनाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।
धन्यवाद।
—————————————————————————————————————————————–
