२४ कात्तिक खोटाङ । दूधकोशी नदीमा बेपत्ता भएको आशंका गरिएका ओखलढुंगाका २२ वर्षीय प्रख्यात राईको खोजीमा खटिएको सशस्त्र प्रहरीको गोताखोर टोली रित्तो हात फर्किएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-३ उँबु निवासी राईको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटबाट खटिएको टोलीले दुई दिनसम्म नदीमा खोजी गरे पनि उनको अवस्था पत्ता लगाउन नसकेको हो ।
गत कात्तिक ४ गतेदेखि सम्पर्कविहीन रहेका प्रख्यातको खोजीका लागि प्रहरी नायव निरीक्षक प्रकाश ढकालको नेतृत्वमा चार जना गोताखोरसहित नौ सदस्यीय टोली परिचालन गरिएको थियो । टोलीले कात्तिक २१ र २२ गते दूधकोशी नदीको जयराम क्षेत्रदेखि हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवासम्म सम्भावित स्थानमा खोजी गरेको थियो । प्रख्यातका बुवा प्रकाशहरि क्याम्पा राईका अनुसार छोरा सांस्कृतिक कार्यक्रममा सहभागी हुन जाने भन्दै घरबाट निस्किएका थिए । मानेभञ्ज्याङ गाउँपालिका-६ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा जाने भनिए पनि उनी कार्यक्रमस्थलसम्म नपुगेको स्थानीयले बताएका छन् ।
यसअघि सशस्त्र प्रहरी बल नेपाल मनसुन प्रतिकार्य अस्थायी सुरक्षा बेस हर्कपुरका प्रहरी नायव निरीक्षक रमेशकुमार बोहोराको नेतृत्वमा खटिएको टोलीले कात्तिक १६ गतेदेखि खोजी अभियान सञ्चालन गरेको थियो। उक्त टोलीले मानेभञ्ज्याङ गाउँपालिका-६ सोदुखोलादेखि खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवास्थित चारबोटेसम्म दूधकोशी नदी किनारमा खोजी गरेको भए पनि सफलता हात पार्न सकेको थिएन ।
त्यसपछि गोताखोरसहितको विशेष टोली परिचालन गरिएको थियो। नेपाल प्रहरी, बेपत्ता युवाका परिवार, आफन्त तथा जनप्रतिनिधिको उपस्थितिमा सञ्चालन गरिएको खोजी अभियानमा समेत प्रख्यात फेला नपरेपछि टोली फर्किएको स्थानीय हुकुमसिंह राईले जानकारी दिनुभयो ।लामो समयदेखि सम्पर्कविहीन रहेका प्रख्यातको अवस्था अझै अज्ञात रहेको छ ।



