Skip to main content

Khotang Khabar

हलेसी तुवाचुङमै भूमि प्रशासन सेवा सुरु, जग्गा कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो

६ असोज, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय स्तरबाटै भूमि तथा मालपोतसम्बन्धी सेवा उपलब्ध गराउन थालेको छ। नगरपालिकाले यही असोज-५ गतेदेखि भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएसँगै जग्गा तथा मालपोतसँग सम्बन्धित सामान्य कामका लागि जिल्ला सदरमुकाम दिक्तेल आउनुपर्ने स्थानीय नागरिकको बाध्यता हटेको छ। नगरपालिकाले भूमि प्रशासन तथा नापी कार्यालयबाट उपलब्ध हुँदै आएका विभिन्न सेवामध्ये बायोमेट्रिक प्रक्रियाबाहेकका सेवा स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाएको नगरप्रमुख बिमला राईले जानकारी दिनुभएको छ। यससँगै हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका सेवाग्राहीले आफ्नो स्थानीय तहबाटै भूमि तथा मालपोतसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन सक्ने भएका छन्।

नगरप्रमुख राईका अनुसार यसअघि सामान्य प्रकृतिका जग्गा तथा मालपोतसम्बन्धी कामका लागि समेत सेवाग्राही जिल्ला सदरमुकाम दिक्तेल पुग्नुपर्ने अवस्था थियो। स्थानीय तहबाटै सेवा सुरु भएपछि समय, खर्च र आवतजावतको झन्झट कम हुनुका साथै नागरिकले घरनजिकैबाट आवश्यक सेवा लिन सक्ने अवस्था बनेको उहाँले बताउनुभएको छ। भूमि प्रशासन अधिकृत ध्रुव कार्कीका अनुसार नगरपालिकाको भूमि शाखाबाट जग्गा कारोबार तथा हक हस्तान्तरणसँग सम्बन्धित विभिन्न सेवा प्रदान गरिनेछ। कार्कीका अनुसार राजीनामा, हककिस्सा राजीनामा, दर्ता फारिस, सगोलनामा, हकछोडपत्र, दातापत्र तथा बकसपत्रलगायतका काम अब नगरपालिकाको सम्बन्धित शाखाबाटै गर्न सकिने बताउनु भयो ।

भूमि प्रशासनसम्बन्धी सेवासँगै नापीसम्बन्धी कामका लागि पनि स्थानीय स्तरबाटै सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। नापी कार्यालयअन्तर्गतका कित्ता नापी, नक्सा प्रिन्ट तथा बिक्री, कित्ता कार्ड उपलब्ध गराउने, कित्ता एकीकरण गर्ने र जग्गा छुट्ट्याउनेलगायतका काम स्थानीय तहबाटै सञ्चालन हुने जनाइएको छ। त्यस्तै, नक्सामा घर, बाटो तथा अन्य आवश्यक पूर्वाधार कायम गर्ने कामसमेत स्थानीय तहबाट उपलब्ध हुने नगरपालिकाले जनाएको छ। तर सबै प्रकारका पुराना जग्गा अभिलेखका आधारमा भने तत्काल सेवा दिन सकिने अवस्था नरहेको भूमि प्रशासन अधिकृत कार्कीले जानकारी दिनुभएको छ। सशस्त्र द्वन्द्वका क्रममा मालपोत कार्यालयमा भएको आगजनीका कारण भूमि तथा जग्गासम्बन्धी कतिपय पुराना कागजात र अभिलेख नष्ट भएका छन्। त्यसकारण हालका लागि प्रणालीमा अभिलेख प्रविष्ट भइसकेका र स्रेस्ता कायम भएका तथा डिजिटल जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका जग्गाधनीलाई मात्र स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा उपलब्ध गराइने उहाँले स्पष्ट पार्नुभएको छ।

नगरपालिकाका अनुसार सेवा सञ्चालनका क्रममा डिजिटल प्रणालीमा अभिलेख कायम भएको अवस्था र आवश्यक कागजातको आधारमा सेवाग्राहीलाई प्रक्रिया अघि बढाइनेछ। पुराना अभिलेख उपलब्ध नभएका वा प्रणालीमा विवरण कायम नभएका जग्गाको हकमा भने आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने हुन सक्ने जनाइएको छ।
स्थानीय तहबाट भूमि तथा मालपोतसम्बन्धी सेवा सञ्चालनमा आएपछि विशेषगरी हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। भूमि तथा मालपोतसँग सम्बन्धित काम नागरिकका लागि प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण प्रशासनिक सेवा भएकाले स्थानीय तहबाटै सेवा उपलब्ध गराउने व्यवस्थाले सेवा प्रवाहलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। नगरपालिकाले सेवा लिन आउने नागरिकलाई आवश्यक कागजातसहित सम्बन्धित शाखामा सम्पर्क गर्न आग्रह गरेको छ।

—————————————————————————————————————————————–

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मझुवा सेवा समाजको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै

मझुवा सेवा समाजको आयोजनामा वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुँदै

६ असोज खोटाङ। नेपालीहरूको महान् चाड विजयादशमीको अवसर पारेर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा वडा स्तरीय पुरु...
हलेसी तुवाचुङमै भूमि प्रशासन सेवा सुरु, जग्गा कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो

हलेसी तुवाचुङमै भूमि प्रशासन सेवा सुरु, जग्गा कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्यो

६ असोज, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय स्तरबाटै भूमि तथा मालपोतसम्बन्धी सेवा उपलब्ध गराउन थालेको छ। नगरपालिकाले यही असो...
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

५ असोज खोटाङ। जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसम बुलेटिन जारी गर्दै आगामी असोज-९ गते शुक्रवारदेखि असोज ११ गते आइतवारसम्म गण...
एनएमबि लघुवित्तको अभियान, हिमालयन मावि परिसरमा सामूहिक वृक्षारोपण

एनएमबि लघुवित्तको अभियान, हिमालयन मावि परिसरमा सामूहिक वृक्षारोपण

 ३ असोज  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मामा अवस्थित हिमालयन माध्यमिक विद्यालय परिसरमा सामूहिक वृक्षारोपण कार्यक...